सल्यानमा मध्यावधिक निर्वाचनको तयारी शुरु

सल्यान ५, माघ ।
सल्यानमा मध्यावधिक निर्वाचनको तयारी शुरु गरिएको छ । सरकारले आगामी बैशाख १७ र २७ गते गरेर दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने भनेर मिती घोषणा गरेसगै जिल्लामा निर्वाचनको लागी तयारी थालिएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । अहिले जिल्लामा मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालनको तयारी भैरहेको छ । माघ १५ गते देखी स्थानिय तहमा ७ दिन र जिल्लास्तरमा १२ दिन अध्यावधिक गरिने छ ।

२०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाभर १ लाख ३४ हजार २ सय १३ मतदाता रहेकोमा गत पुस ६ गते सम्म जिल्लामा १ लाख ४१ हजार २ सय २० मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार साहले जानकारी दिनुभयो । यस्तै जिल्लाभर १ सय ८५ वटा मतदान केन्द्र र १ सय ११ वटा मतदान स्थल निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम भएका मतदाताहरुको अध्यावधिक गर्ने काम जिल्लास्तरमा र स्थानिय तहमा नै पुगेर समेत गरिने उहाँले जानकारी दिनुभयो । ‘सरकारले बैशाखमा गर्ने भनेर घोषणा गरिएको निर्वाचनको तयारी शुरु गरेका छौँ, नयाँ मतदाता नामावली संकलन कार्य गत पुस ६ गते देखी नै स्थगित गरिसकेका छौँ, तर गत पुस ५ गते सम्म १८ बर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावली भएको सबैले मतदान गर्न पाउँछन्’ उहाँले भन्नुभयो ।

मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवम् अध्यावधिक गर्न, मतदाता नामावलीमा हुने दोहोरोपना तथा त्रुटी घटाउन, हालसम्म जिल्लामा संकलित मतदाता नामावलीलाई वैधानिकता दिन र आगामी बैशाखमा हुने निर्वाचनको लागी अध्यावधिक मतदाता नामावली तयार पर्ने उद्धेश्यले मतदाता नामावली अध्यावधिकको काम शुरु गरिने उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस