सल्यानको कालिमाटी गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य शुरु

सल्यान ७, पुस ।
सल्यानको कालीमाटी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणको थालनी गरेको छ । आफ्नै भवन नहुदाँ साविकको गाविस भवनवाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले अहिले आफ्नै नयाँ भवनको थालनी गरेको छ । चालु आर्थिक बर्षमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माणको काम तिव्र गतिमा भैरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष दान बहादुर केसीले २ करोड ३७ लाख रुपैँयामा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले कामको जिम्मेवारी लिएको जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा नै निर्माण सम्पन्न गर्ने गरी गालुवा निर्माण कम्पनीले कामको जिम्मेवारी लिएको उहाँको भनाई छ ।
कालीमाटी गाउँपालिकामा नयाँ प्रशासनिक भवन निर्माण नहुदाँ साविकको कालीमाटी रामपुर गाविस भवनबाट सेवा प्रवाह हुदैँ आएको छ । ‘हामीले प्रशासनिक भवन निर्माणको लागी जग्गा खोजिरहेका थियौँ, स्थानियले रामपुर वजारमा नै निशुल्क रुपमा झण्डै ५ रोपनी जग्गा उपलब्ध गराएपछि भवन निर्माणको कार्यले तिव्रता पाएको हो’ उहाँले भन्नुभयो ।

उहाँले भवन निर्माण पश्चात गाउँपालिकाबाट प्रदान गरिने सेवामा छिटो, छरितो र थप प्रभावकारी हुने बताउनुभएको छ । ‘यही असार मसान्त सम्ममा निर्माण सक्ने भनेर कामको थालनी गरिएको छ, अहिले जग खनेर पिलर ठड्याउने काम भैरहेको छ, १८ वटा कोठा भएको एक तले भवन निर्माण हुदैँ छ’ उहाँले भन्नुभयो ।
विगतमा कोठा भवन अभावमा सेवा प्रवाहमा केही असहजता भएको बताउदैँ उहाँले भवन निर्माण पश्चात केही सहज हुने अपेक्षा गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस