प्रधानमन्त्रीले संसद विघटन गरेर नागरिकप्रति कुठाराघात गरे : प्रदेश सह-इन्चार्ज ज्वाला

बुद्धि पुन,

सल्यान ११, माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकप्रति कुठाराघात गरेको बताउनुभएको छ । उहाँले नेपाली नागरिकले नसोचेको, संविधानले नचाहेको र नेकपाले नचाहेको कदम केपी ओलीबाट भएको र यो कदम नागरिकको भावना विपरीत भएकाले नागरिकप्रति कुठाराघात भएको बताउनुभएको हो ।

आइतवार सल्यानको मार्केमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, असान्दर्भिक भएको पनि बताउनुभयो । पाँच वर्षे कार्यकाल रहेको प्रतिनिधि सभा तीन वर्षमै विघटन हुने कुनै कारण नभएको भन्दै सनकको भरमा प्रधानमन्त्रीले चालेको कदम सदर गर्ने राष्ट्रपतिको कदम पनि कानुनसम्मत नभएको उहाँले बताउनुभयो ।

यस्तै नेकपाका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदम बिरुद्ध एक हुन आम कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । जनताले पाँच बर्षको लागी स्थायी सरकार र दिगो विकासको लागी नै नेकपालाई मत दिएर जिताएको बताउदैँ उहाँले जनमतको ओलीले अपमान गरेको बताउनुभयो ।

कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य तथा शिक्षक संगठनका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष लुट बहादुर केसी सहित नेपाली काँग्रेस र राप्रपाका गरी झण्डै चार दर्जन नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेको हुन् । गम बहादुर पुनको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा अंकसिंह सेजवालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममको सञ्चालन डम्बर नेपालीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस