सल्यान १६, माघ ।
विद्यार्थीको पढाईलाइ रचनात्मक बनाउन सल्यानको एक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा, उचाल्नेमा रहेको अमर आधारभूत विद्यालयले बिहीबार शैक्षिक भ्रमण गराएको हो । विद्यालयको बालबिकास देखि कक्षा ३ सम्ममा अध्यनरत ६१ जना विद्यार्थीहरुलाई चाँदनी साततले गुफा, सिद्ध बाबा मन्दिरको एक दिने शैक्षिक भ्रमण गराइएको विद्यालयका प्रधानाध्यापक मोहन केसीले जानकारी दिनुभयो ।
खास गरेर विद्यार्थीले अध्ययन गर्ने मेरो सेरोफेरो बिषयमा समाबेश गरिएको विद्यालय आसपासका धार्मिक तथा पर्यटकीय स्थलहरुको अध्ययन तथा अवलोकन गर्ने र ति क्षेत्रको बारेमा जानकारी दिने उद्देश्यले भ्रमण गरिएको उहाँको भनाइ छ ।
जसमा चाँदनी साततले गुफा र सिद्ध बाबाको मन्दिर आदिको बारेमा जानकारी प्रदान गरिएको हो । शैक्षिक भ्रमणमा शिक्षिकाहरु भुमा पुन डाँगी, हरि कला केसी, कार्यालय सहयोगी गिता कुमारी नेपाली लगाएत सम्पुर्ण विद्यार्थीहरुको सहभागिता रहेको थियो ।