सल्यानमा ३ प्रतिशत व्याजदरमा महिला उद्यमशिलता कर्जा प्रवाह गर्न समझदारी

सल्यान १६, माघ ।
सल्यानमा उद्यमीहरुलाई सहुलियतपुर्ण कर्जा प्रवाहको लागि समझदारी भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यान र नेपाल बंगलादेश बैंक सल्यान शाखाका बीचमा उद्यमीहरुलाई सहुलियतपुर्ण कर्जा प्रवाहको लागि शुक्रबार समझदारी भएको हो ।

महासंघका अध्यक्ष प्रेम बहादुर डाँगी र बैँकका शाखा प्रमुख डिल्ली कार्कीका बीच भएको समझदारी अनुसार केन्द्रमा भएको सम्झौता बमोजिम जिल्लाका उद्यमीहरुको लागि सहुलियतमा कर्जा प्रवाह गर्ने समझदारी भएको हो । खास गरेर उद्यमी व्यावसायिहरुको ब्यवसायलाई प्रबद्र्धन र दिगो बनाउन तथा यसको विकासको लागि सहुलियतपूर्ण कर्जाको ब्यवस्था गरिएको हो ।

महासंघका अध्यक्ष डाँगीले महिला उद्यमशिलता कर्जा मार्फत ३ प्रतिशत ब्याजदरमा ऋण प्रवाहको ब्यवस्था मिलाइएको जानकारी दिनुभयो । महिला नै उद्यम संचालक भएर उद्योग संचालन गरेको र घरेलु तथा साना उद्योग महासंघको सिफारिसमा बढीमा १५ लाख रुपैयाँ सम्म सहुलियतमा कर्जा पाउने उहाँको भनाइ छ ।
यस्तै ब्यवसायिक कृषि तथा पशुपंक्षि कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय ब्यवसायिक कर्जा र गार्मेन्ट उद्योग कर्जा अन्तर्गत सहुलियतमा कर्जा पाउने उहाँले जानकारी दिनुभयो । यस्तै बैंकका शाखा प्रमुख कार्कीले उद्यमीहरुलाई सहुलियत ऋण प्रदान गर्नको लागी बैँक तयार रहेको जानकारी दिनुभयो ।

यसैबिच घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष प्रेम बहादुर डाँगी र युनियन लाइफ एन्सोरेन्स श्रीनगर शाखा प्रमुख रमेश कुमार वलीका बिच उद्यमीहरुको म्यादी विमा सम्बन्धि समझदारी भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस