राष्ट्रिय परिचयपत्र प्रदान गर्न सल्यानमा आगामी तीन महिना भित्र विवरण संकलन गरिसक्ने

आइतवार देखी कपुरकोट र त्रिबेणीबाट विवरण संकलन गर्ने तयारी

सल्यान १६, माघ ।
सल्यानमा राष्ट्रिय परिचयपत्र प्रदान गर्न आगामी तीन महिना भित्रमा विवरण संकलन गरिने भएको छ । राष्ट्रिय लक्ष्य अनुसार जिल्लाका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य सहित जिल्लाका सबै स्थानीय तहमा पुगेर विवरण संकलन गरिने भएको हो । यसका लागि आगामी आइतबार देखी जिल्लाको कपुरकोट गाँउपालिका र त्रिबेणी गाउँपालिकाबाट विवरण संकलन थालिने भएको छ । त्यस पश्चात क्रमशः सबै स्थानीय तहमा विवरण संकलन गरिने छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग र जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा शुक्रवार जिल्लाको सदरमुकाम खलंगामा आयोजित राष्ट्रिय परिचयपत्र, पञ्जीकरण तथा सामाजिक सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । सल्यानमा गत बर्ष देखि नै राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरु गरिएको थियो ।

कार्यक्रममा बोल्दै बिभागका निर्देशन शिवराज जोशीले यस बर्ष झन्डै १ करोड नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरणको तयारी भैरहेको जानकारी दिनुभयो । ब्यक्तिको सहि पहिचान हुने भएकोले यसको महत्व धेरै भएको उहाँले बताउनुभयो । “राष्ट्रिय परिचयपत्रले नागरिकको सहि पहिचान, सरकारी सेवा प्राप्ति, सामाजिक सुरक्षा भत्ता, राजस्वमा वृद्धि, सुशासन कायम, प्रबिधिमैत्री सेवा प्रबाहको लागि यसले टेवा पु¥याउने छ” उहाँले भन्नुभयो ।

सल्यानका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले राष्ट्रिय परिचयपत्रबाट ब्यक्तिको सहि पहिचान हुने भएकाले यस कार्यमा सरिक हुन सबैमा आग्रह गर्नुभयो । यस्तै त्रिबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले राष्ट्रिय परिचयपत्र प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार भएकोले परिचयपत्रको लागि विवरण दर्ता गराउन सबैमा आग्रह गर्नुभयो ।

यस्तै शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले हरेक नागरिकको लागि राष्ट्रिय परिचयपत्र महत्वपूर्ण भएकाले विवरण संकलन कार्यलाई सफलतापुर्वक सम्पन्न गर्न नगरले पनि सहयोग गर्ने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस