सल्यान १७, माघ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारिता क्षेत्र चुनौती संगै सम्भावना बोकेको पेशा भएको बताउनुभएको छ । पत्रकारलाई काम गर्न थुप्रै चुनौती भएको बताउदैँ उहाँले चुनौती भित्र पनि सम्भावनाको खोजी गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको हो । शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको ५ औँ बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समाजले बिश्वास गर्ने र आवाज विहिनको आवाजको रूपमा पत्रकारले काम गर्नेभएकाले पत्रकारिता पेशा अंगालेर काम गर्न चुनौती भएको उहाँले बताउनुभएको हो ।
मन्त्री ज्वालाले पत्रकारले आर्थिक लोपमा लाग्न नहुने बताउनुभयो । उहाँले जनजीविका, विकास र पछाडि परेका वर्ग र समुदायलाई प्राथमिकिता दिन आग्रह गर्नुभयो । मिडियामा राजनीतिक विषयलाई मात्र महत्व दिँदा विकास र पछाडी परेका वर्गका विषयले कम महत्व पाएकाले त्यसतर्फ पत्रकारको ध्यान जानु पर्ने उहाँको भनाइ छ । मन्त्री ज्वालाले संसद विघटन गर्ने अहिलेको आवश्यकता नभएको बताउनुभयो । आफ्नै स्वार्थ पुरा गर्नको लागि संसद विघटन गरियो, यो अलोकतान्त्रिक र असंवैधानिक कदम हो, उहाँले भन्नुभयो तर सरकारले जनमत बिपरितको कार्य भयो । उहाँले लामो संघर्ष र छलफलबाट प्राप्त संविधान अपहरित भएको बताउनुभयो ।
यस्तै कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले पत्रकारले खोजमुलक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय निष्पक्ष र खोजमुलक पत्रकारिता हराउदै गएको बताउदैँ उहाँले नागरिकको मन जित्ने गरि काम गर्न सुझाव दिनुभयो ।
यस्तै शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारीले पत्रकार महासंघको संस्थागत विकासको लागि नगरपालिकाले काम गर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माको अध्यक्षतामा भएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्वय टेकराज शाही, पुर्ण प्रसाद चौलागाईं, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका सल्लाहकारद्वय रमेशकुमार गौतम र सनत कुमार शर्मा, प्रेस युनियनका केन्द्रिय सदस्य युबराज रेग्मी लगाएतकाले बोल्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष प्रगति कुमारी गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचीव शंकर केसीले गर्नुभएको थियो ।