सल्यान २२, माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षले आज गरेको आमहड्तालका कारण सल्यान सुनसान बनेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको प्रतिगामी कदम र बिभिन्न आयोगमा गरेको असंबैधानिक नियुक्तिका बिरुद्धमा नेकपाको केन्द्रिय सुर्कलर अनुसार जिल्लामा गरिएको बन्दका कारण सबै क्षेत्र सुनसान बनेको छ ।
बन्दका कारण जिल्लाको सदरमुकाम खलंगा सँगै श्रीनगर, थारमारे, कपुरकोट, सल्लीवजार लगाएतका जिल्लाका मुख्य वजारहरु सुनसान रहेका छन् । यस्तै लामो तथा छोटो दुरीका कुनै पनि सवारीसाधन चलेका छैनन् । बिहानै देखी नेकपाका कार्यकर्ताहरु वजार तथा चोकहरुमा जम्मा भएर बन्दलाई सफल वनाउन सबैमा आग्रह गर्दै हिडेका थिए ।
संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा आज एक दिने आमहड्ताल गरिएको नेकपाका नेता रमेश कुमार गौतमले जानकारी दिनुभयो । उहाँले शान्तिपुर्ण तवरले बन्दको आह्वान गरेको र यसमा जिल्लावासीले साथ दिएको पनि जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपालका जिल्ला इन्चार्ज खड्क आचार्यले बजार, शिक्षण, संस्था पसल व्यवसाय लगायत ठप्प भएपनि एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान, परीक्षामा सहभागी हुने विद्यार्थीका सवारीसाधनहरुलाई भने निर्वाध रुपमा सञ्चालन गर्न दिइएको जानकारी दिनुभयो ।
यसैबिच नेकपाको प्रचण्ड नेपाल पक्षले गरेका आमहड्तालका कारण सडकमा र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि नै जिल्लाका मुख्य वजारहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ ।