भूमिहीनका लागि जग्गा व्यवस्थापन : कालिमाटीमा शुरु, बागचौरमा अन्यौल

सल्यान २२, माघ ।
सल्यानमा भूमिहीन नागरिकहरुको लागी जग्गा व्यबस्थापनको काम थालिएको छ । जिल्लाको कालिमाटी गाउँपालिकाले भूमिहीनहरूका लागि जग्गा व्यवस्थापनको काम सम्पन्न गर्न आबश्यक प्रक्रिया अगाडी बढाएको जनाएको छ । जिल्लाका दश स्थानिय तह मध्ये कालीमाटी गाउँपालिका र बागचौर नगरपालिकासँग भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीको लगत संकलन गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

सोही अनुसार अहिले आबश्यक प्रक्रिया अगाडी बढाएको कालिमाटी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्रीले गाउँपालिका भित्रका सबै भूमिहीन नागरिकहरुको लगत संकलनको प्रक्रिया अगाडी बढेको जानकारी दिनुभयो । यसका लागी आबश्यक पर्ने कर्मचारीको पदपूर्तीको काम सकिएको उहाँले जानकारी दिनुभयो ।

‘लगत संकलनको लागी १ जना संयोजक, ३ जना अमिन, २ जना कम्यूटर अपरेटर र प्रत्येक वडामा २ जनाका दरले १४ जना तथ्यांक संकलकको करारमा पदपुर्ती गरिसकेका छौँ, नापी सर्वेक्षकको लागी बिज्ञापन आह्वान्न गर्दा कसैको पनि आवेदन नपरेपछि फेरी दोस्रो चरणमा बिज्ञापन आह्वान्न गरेका छौँ’ उहाँले भन्नुभयो । उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन इकाई कार्यालय स्थापना गरेर कामको थालनी गरिने जानकारी दिनुभयो ।

गाउँपालिका भित्र झण्डै एक हजार बढी भूमिहीन भएको अनुमान गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत खत्रीले गाउँपालिकाको काप्रेचौर, कालिमाटी काल्चे लगाएतका क्षेत्रमा बढी भूमिहीन भएको हुनसक्ने जानकारी दिनुभयो ।

यता जिल्लाको बागचौर नगरपालिकामा भने भूमिहीनको लगत संकलन कार्यमा अन्यौलता देखिएको छ । भूमिहीनको लगत संकलनको लागी आबश्यक तयारी गर्नुपर्ने भएपनि अहिलेसम्म कुनै प्रक्रिया अगाडी नबढेको नगरपालिका स्रोतले जनाएको छ । भूमिहीनको लागी जग्गा व्यबस्थापन गर्न कर्णाली प्रदेशका १६ स्थानीय तहमध्ये सल्यानका २ स्थानीय तह छनोट गरिएको थियो ।

भूमिहीनहरुलाई सकेसम्म सम्बन्धित वडा, नगर वा गाउँपालिकामा व्यवस्थापन गर्ने तयारी भएको भूमिसम्बन्धी समस्या समाधान आयोगले जनाएको छ । खासगरी स्थानीय तहबाट प्राप्त हुने लगतको विश्लेषण गरी प्रमाणित हुने भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराइने आयोगको तयारी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस