सल्यान २४, माघ ।
सल्यानको त्रिबेणी गाउँपालिकाले गाउँपालिका भित्रका बिद्यालयहरुमा प्राथामिक उपचारको ब्यवस्था गरेको छ । पठनपाठनका क्रममा बिद्यार्थीहरुको स्वास्थ्यमा कुनै सामान्य समस्या देखा परेमा पढाइ छोडेर उपचारको लागी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँपालिकाले सबै सामुदायिक बिद्यालयहरुमा प्राथामिक उपचारको ब्यवस्था गरेको हो ।
जसको लागी गाउँपालिका भित्र रहेका सबै २९ वटा सामुदायिक बिद्यालयमा प्राथामिक उपचार सामाग्री हस्तान्तरण गरिएको गाँउपालिका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनुभयो । उहाँले बिद्यालयमा रहेका बिद्यार्थीहरुको संख्याको आधारमा प्राथामिक उपचार सामाग्रीहरु हस्तान्तरण गरिएको बताउनुभयो ।
‘पठनपाठनको क्रममा बिद्यार्थीमा कुनै सामान्य समस्या देखियो अथवा खेल खेल्दा चोटपटक लागेको अबस्थामा पढाइ छोडेर स्वास्थ्य संस्थामा उपचारको लागी जानुपर्ने बाध्यता अन्त्य गर्नका लागी उपचार सामाग्री हस्तान्तरण गरेका छौँ, जसमा ब्यान्डेज, टिन्चर लगाएत सामान्य रुघाखोकी, झाडापखाला लागेको समस्यामा बिद्यालयबाट नै औषधि उपलब्ध गराउने ब्यवस्था मिलाएका छौँ’ उहाँले भन्नुभयो ।
उहाँले हरेक बिद्यार्थीलाई स्वास्थ्यको पहुँचमा ल्याउने र शैक्षिक सुधारको लागी यस कार्यको थालनी गरिएको जानकारी दिनुभयो । यस कार्यबाट स्वास्थ्यमा कुनै समस्या आएर बिचमा नै कक्षा छोड्ने बिद्यार्थीहरुको संख्यामा कमी आउने उहाँको भनाई छ । चालु आर्थिकको निति तथा कार्यक्रममा उल्लेख भएअनुसार आबश्यक वजेट विनियोजन गरेर यस कार्यको थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष डाँगीले गाउँपालिका भित्रका सबै बिद्यालयहरुमा किशोरकिशोरी कक्षा सञ्चालन भैरहेको पनि जानकारी दिनुभयो । किशोराबस्थामा पुगेका बिद्यार्थीहरुको लागी स्वास्थ्यकर्मीहरुको उपस्थितीमा महिनाको २ पटक किशोरकिशोरी कक्षा सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो । यस्तै स्वास्थ्यमा सुधार गर्न तल्लो कक्षामा अध्ययनरत बिद्यार्थीहरुको लागी पुर्णसरसफाई कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।