सल्यानमा कोरोना भाइरस बिरुद्धको खोप एक हजार दुई जनाले लगाए

सल्यान २५, माघ ।
कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप सल्यानमा एक हजार दुई जनाले लगाएका छन् । जिल्लामा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मी गरी पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप शनिवार अन्तिम दिन सम्म जिल्लामा एक हजार दुई जनाले लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अनुसार यही माघ १४ गते बुधबार देखी देशैभर कोरोना भाइरस बिरुद्धको खोप लगाउन शुरु गरिएको थियो । सोही अनुसार कोरोना रोकथामको निम्ति अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मीहरुलाई खोप लगाइएको हो । जसमा सल्यानबाट ९ सय ७२ जना र रुकुमबाट ३० जना गरेर सल्यानका १ हजार २ जनाले कोरोना बिरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालयमा निमित्त प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो चरण अन्तर्गत फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं सरसफाइकर्मीहरुलाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो । प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने, स्वास्थ्य स्वयंसेविका, फोहोरमैला व्यवस्थापनमा खटिने, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप लगाइएको उहाँको भनाई छ ।

सल्यान जिल्ला अस्पतालसँगै बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कुमाख गाउँपालिका र कालीमाटी गाउँपालिकामा खोप केन्द्र तोकेर कोरोनाविरुद्धको खोप लगाइएको थियो । कोरोना बिरुद्धको खोप दुईपटक लगाइन्छ । पहिलो खोप लगाएको २८ दिनपछि दोस्रोपटक पुनः खोप लगाउनुपर्ने छ । जिल्लामा झण्डै २ हजार डोज कोरोना खोप आएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस