सरकारले लगानी गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष शाही

उद्योग बाणिज्य संघ सल्यानको १० औं साधारणसभा तथा ८ औं अधिबेशन शुरु

सल्यान २५, माघ ।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले सरकारले निजि क्षेत्र संग सहकार्य गर्नुपर्ने बताउनुभएको छ । कर्णाली सम्भावनाको खानी भएकाले प्रदेशमा आफ्नै उद्योग धन्दा र कलकारखाना स्थापना गर्नको लागी सरकार र निजि क्षेत्रले सँगसँगै काम गर्ने बाताबरण हुनुपर्ने उहाँले बताउनुभएको हो ।

आइतबार सल्यानको श्रीनगरमा सल्यान उद्योग बाणिज्य संघ सल्यानको १० औं बार्षिक साधारणसभा तथा ८ औं अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कर्णाली प्रदेश पर्यटन सँगै कृषि, पशुपालन तथा जडिबुटीको भण्डारण भएकाले यहाँ उत्पादन भएको बस्तु राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा बिस्तार गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाई छ ।

‘सल्यान जिल्लामा बर्षेनी ठुलो मात्रामा टिमुर, अदुवा, सुन्तला उत्पादन हुदैँ आएको छ, यसले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय स्तरका बजारसम्म पनि आफ्नो पहिचान बनाएको छ, हामीले निर्वाहमुखी प्रणालीलाई त्यागेर ब्यवसायिकरणमा जोड दिनुपर्दछ, यसको लागी सरकारले लगानीको वाताबरण सँगै लगानी सुनिश्चितताको ग्यारेन्टि गर्नुपर्दछ’ उहाँले भन्नुभयो ।

उहाँले सल्यान सँगै कर्णाली प्रदेशमा लगानी गर्ने थुप्रै क्षेत्रहरु भएपनि सरकारले स्वदेशी तथा बिदेशी लगानीकर्तालाई लगानी गर्ने खालको बातावरण सिर्जना गर्ने नसकेको गुणासो गर्नुभयो । पछिल्लो समय स्थानिय स्तरमा उत्पादित बस्तुको बजारीकरण गर्नु प्रमुख चुनौती भएको उहाँको भनाई छ ।

यस्तै कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुर कृष्ण वैधले पछिल्लो समयमा स्थानीय तहले राजस्व संकलनमा वृद्धि गरेर ब्यवसायीहरुलाई समस्यामा पारेको गुनासो गर्नुभएको छ । उहाँले राजस्व संकलन गर्ने अधिकार स्थानीय तहलाई भएपनि ब्यवसायिकको हितमा काम गर्नुपर्ने बताउनुभएको हो ।

यस्तै जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले जिल्लामा आर्थिक गतिविधि संचालनका लागी थुप्रै सम्भावना भएको बताउदैँ यसको प्राथामिकिरणमा निजि क्षेत्रले जोड दिनुपर्ने बताउनुभयो । यसका लागि सरकारी क्षेत्र संग सहकार्य र समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले ग्रामीण क्षेत्रमा रहेका ब्यापारीहरुलाई समेत समेटेर सबैको साझा संस्थाको रूपमा स्थापित गर्न उद्योग बाणिज्य संघलाई सुझाव दिनुभयो । यस्तै त्रिबेणी गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले गाउपालिकाले हरेक क्षेत्रमा निजि क्षेत्र संगसहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । यस्तै कुमाख गाउपालिका उपाध्यक्ष डिल्लीराज जैसीले ब्यवसायिको हितको लागि साझा एजेन्डा तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बिर बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचीव कर्ण बहादुर बुढाथोकी, नेपाली काँग्रेसका जिल्ला सभापति गणेश चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष नेत्र लाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष खड्क बहादुर पुन, रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का, आन्तरिक राजस्व कार्यालय दाङका प्रमुख कर अधिकृत गोपिकृष्ण कोइराला, उद्योग बाणिज्य संघ सल्यानका संस्थापक अध्यक्ष भोलानाथ खड्की, पुर्वअध्यक्ष टोपेन्द्र शर्मा, नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश सदस्य नबिन पौडेल लगाएतकाले बोल्नुभएको थियो ।

संघका बरिस्ठ उपाध्यक्ष कुमार बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन महासचिव भरत कुमार बस्नेतले गर्नुभएको थियो । संघको साधारण सभा तथा अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

 

 

प्रतिक्रिया दिनुहोस