प्रधानमन्त्री ओलीले कानुन विपरित गएर संविधान माथि ‘कु’ गरे : काँग्रेस नेतृ संग्रौला

सल्यान २५, माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले प्रधानमन्त्री केपि शर्मा ओली कै कारण अहिले नेपालमा बिदेशी चलखेल शुरु भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बहुमत प्राप्त प्रतिनिधिसभा बिघटन गरेर बिदेशी तत्वहरुलाई नेपालमा चलखेल गर्ने वातावरण सिर्जना गरेको उहाँले बताउनुभएको हो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा सल्यानले आइतवार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालमा अहिले बामपन्थि र दक्षिणपन्थि तत्वहरु सक्रिय भएको बताउनुभयो । नेतृ संग्रौलाले पार्टीको आन्तरिक बिबादलाई समाधान गर्न नसकेर ओलीले संसद बिघटन गर्दै लोकतन्त्रको समेत घाँटी निमोठेको टिप्पणी गर्नुभयो ।

‘आफैले बनाएको संविधान, कानुन तथा विधि बाहिर रहेर प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले सर्वसत्तावाद लाद्न खोजेका छन््’ उहाँले भन्नुभयो ‘आफ्नै हातमा रहेको शासन र पद्धति बचाउन नसक्ने कम्युनिस्टहरु पतनको स्थितिमा पगेको छन्, लामो संघर्षबाट प्राप्त उपलब्धि र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको छ ।’

ओलीले कानुन विपरित गएर संविधान माथि कु गरेकाले त्यसको रक्षा गर्दै बिघटित प्रतिनिधिसभाको पुर्नस्थापनाको लागी काँग्रेसले आन्दोलन थालेको बताउनुभयो । ‘सरकारको प्रतिगामी, असंबैधानिक, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाउँछ भन्नेमा हामी ढुक्क छौँ, संसद नभएकाले हामीले बाध्य भएर सडकबाट जनताका आवाजहरु बोलिरहेका छौँ’ उहाँले भन्नुभयो ।

बिघटित प्रतिनिधिसभा सदस्य समेत रहुनभएकी संग्रौलाले कोरोनाले मुलुक थिलोथिलो परेको अबस्थामा जनतालाई रोजगारी र आर्थिक समृद्धिका योजना सहित सरकार अगाडी बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । रोजगारीको अभावमा हजारौँ युवाहरु खाडीमुलुकमा गैरहेको बताउदैँ उहाँले ती युवालाई स्वदेशमा नै आत्मनिर्भर वनाउने योजना सरकारसँग हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सल्यानका उपाध्यक्ष कृष्ण बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आशिष केसीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस