‘बालुवा नचाले साँझ­-बिहानको छाक टर्दैन्’

सल्यान २७, माघ ।
रोजगारीका अवशरहरु नपाउँदा सल्यानका बिपन्न परिवारहरु जीवननिर्वाहको लागी नदिजन्य बस्तुमा निर्भर रहनुपर्ने बाध्यता रहेको छ । आर्थिक रुपमा बिपन्न हुदाँ रोजगारी पनि नपाइने र जीवननिर्वाहको लागी अरु कुनै पनि बिकल्प नभएपछि साँझ बिहान कै छाक टार्नको लागी पनि गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ । अहिले जिल्लाको शारदा नदि सँगै अन्य आसपासका खोलाहरुमा गिट्टी कुट्ने र बालुवा चालेर दैनिकी चलाउने परिवारको संख्या धेरै छ ।

जिल्लाका खोला तथा नदिनालाहरुबाट नदिजन्य बस्तुहरु ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने सरकारी नियम छ । तर पनि जीवन निर्वाह गर्ने अर्को कुनै विकल्प नहुदाँ बाध्य भएर दैनिक रुपमा खोलामा बालुवा चाल्ने तथा गिट्टी कुट्नु परेको उनीहरुको भनाई छ । जिल्लाका वजार तथा गाउँहरुमा काम खोज्दै हिडेपनि कही नपाएपछि बाध्य भएर खोलाको भर पर्नुपरेको उनीहरुको गुणासो छ ।

कपुरकोट गाउँपालिका ५ रिमकी बबिता बोहराले विगत २ बर्ष देखी शारदा नदिको छेउमा बालुवा चाल्दै आउनुभएको छ । सानो बच्चासँग श्रीनगर वजारमा मजदुरी गर्न समस्या भएपछि उहाँले अहिले शारदा नदिको छेउमा बालुवा चाल्नु हुन्छ । ‘बिहान ७ वजे नै खोलामा आउँछु, दिनभर बालुवा जम्मा गरेर बेलुका ५ वजे मात्रै कोठामा जान्छु’ उहाँले भन्नुभयो ‘रोजगारीको कुनै उपाय नभएपछि बाध्य भएर बालुवा चाल्नु परेको छ ।’

उहाँले पाँच दिनमा एक ट्याक्टर बालुवा संकलन गर्ने गरेको जानकारी दिनुभयो । ‘खोलामा भएका ढुंगा, गिट्टी हटाएर बालुवा निकाल्नुपर्छ, पाँच दिनमा एक ट्याक्टर हुन्छ, त्यसको पैसा २ हजार हुन्छ, पाँच सय रुपैँया कर तिर्नुपर्छ, बाँकी पन्ध्र सय रुपैँया हातमा पर्छ, त्यसको आधारमा भन्ने हो भने दैनिक ३ सय रुपैँया ज्यालामा काम गर्नुपरेको छ ।’ दिनभर बालुवा नचाले साँझ बिहानको जोहो गर्न समस्या भएकाले बाध्य भएर यस कार्यमा लागेको उहाँको भनाई छ ।

यस्तै शारदा नगरपालिका १ कि लिला थापाको दिनहरु पनि शारदा नदिको किनारमा नै बित्ने गरेका छन् । नुन तेल लगाएतका घर खर्च चलाउन तथा आफ्ना खर्चहरु टार्नको लागी अहिले खोलाको किनारमा बालुवा चाल्ने गरेको उहाँको भनाई छ । रोजगारीको अर्को अबशर नभएपछि जीवननिर्वाह गर्र्न कै लागी बालुवा चाल्नुपरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै दार्मा गाउँपालिकाको भल्चौरका लाल बहादुर थापाले पढाइ खर्च जुटाउन बालुवा चाल्दै आउनुभएको छ । आफ्नो र भाइबहिनीको पढाइ खर्च जुटाउनको लागी शनिवार तथा बिदाको दिनमा बालुवा चाल्ने गरेको उहाँको भनाई छ । घरको आर्थिक अबस्था कमजोर भएपछि बाध्य भएर बालुवा चाल्नु परेको उहाँले बताउनुभयो ।

केन्द्र, प्रदेश र स्थानिय तहले सञ्चालन गरेका रोजगारमुलक कार्यक्रमहरु लक्षित वर्गहरु कहाँ नपुग्दा समस्या भएको उनीहरुको गुणासो छ । सरकारी तवरबाट स्थानियस्तरमा नै रोजगारी सिर्जना गर्नको लागी बार्षिक रुपमा करोडौँ रुपैँया खर्च भएपनि टाँठाबाँठाको हातमा पर्दा विपन्न परिवारलाई जीवननिर्वाहको लागी गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस