खेलकूद विकास समिति सल्यान १९ महिनादेखि नेतृत्वविहीन

बुद्धि पुन.

सल्यान २८, माघ ।
जिल्ला खेलकूद विकास समिति सल्यान गत वर्षको साउनयता नेतृत्वविहीन अवस्थामा रहेको छ । बजेट र कार्यक्रमको अभावमा १९ महिना देखी निष्क्रिय बनेको समिति कर्मचारीका भरमा कार्यालय सञ्चालन भैरहेको छ । अहिले नियमित कार्यालय खर्च धान्न पनि धौ–धौको स्थिति छ । खेल गतिविधि ठप्प छ । चौमासिक बजेट समयमा नआउँदा तलव खान समेत समस्या रहेको कर्मचारीहरुको भनाई छ ।

खेलकूद विकास समितिमा पदाधिकारी नहुदाँ अन्यौलता सिर्जना भएको कार्यालय प्रमुख शिव राज अधिकारीले जानकारी दिनुभयो । ‘पदाधिकारी नहुँदा अन्योलको अवस्था छ, कार्यक्रम र बजेट केही मात्रामा आएपनि काम अगाडी बढाउन सकिएको छैन्’ उहाँले भन्नुभयो । खेलकूदको लागी गत बर्ष आएको वजेटको जसोतसो कार्यान्वयन गरिएपनि यस बर्ष भने झन् समस्या भएको उहाँको भनाई छ ।

उहाँले जिल्ला खेलकूदमा पदाधिकारी नियुक्तिबारे आफुलाई केही जानकारी नभएको बताउनुभयो । ‘पदाधिकारी नियुक्तिबारे हामीलाई केही जानकारी हुँदैन, प्रदेशले पदाधिकारी छिट्टै पठाउँछ भन्ने सुन्नमा आएको छ, एकैचोटि पत्र आएपछि थाहा हुन्छ’ उहाँले भन्नुभयो । पदाधिकारी चयनमा ढिलाइ भइरहेको भन्दै कानूनी प्रबन्ध छिटो टुङ्गाएर समितिलाई गतिशील बनाउनुपर्ने उहाँको भनाई छ ।

प्रमुख अधिकारीले कोराना भाइरस महामारी लगायतका कारणले डेढ वर्षदेखि खेल क्षेत्र प्रभावित बनेको बताउनुभयो । ‘गत वर्ष राष्ट्रपति रनिङ शिल्ड गर्ने तयारीमा थियौँ, समयमा नै वजेट नआउदाँ समस्या भयो, यो बर्ष कोरोना जोखिमका कारण खेलकूद गतिविधि सबै स्थगित भएका छन्’ उहाँले भन्नुभयो ‘अहिले खेल प्रशिक्षण पनि रोकिएको छ ।’

खेल प्रशिक्षक नहुदाँ कुनै पनि खेल गतिविधि तथा प्रशिक्षण हुनसकेको छैन् । नेतृत्वविहीनताले समितिलाई झन अस्तव्यस्त र गतिहीन तुल्याएको छ । राष्ट्रिय खेलकूद विकास ऐन–२०७७ लागू भएको महिनौँ बितिसक्दा पनि समितिले पदाधिकारी पाउन सकेको छैन् । जिल्लाको खेलकूद हेर्ने राज्यको मुख्य संस्था नै आफैँ समस्यामा फस्दा सिंगो खेल क्षेत्र नै प्रभावित भएको खेलाडीहरुको गुणासो छ ।

 

 

प्रतिक्रिया दिनुहोस