सल्यानका स्थानिय तहमा ‘कृषि निति’ निर्माणमा ढिलाई

सल्यान ३०, माघ ।
सल्यानका स्थानिय तहहरुमा अझैसम्म कृषि निति बन्न सकेको छैन् । जिल्लामा रहेका स्थानिय तहले शिक्षा, स्वास्थ्य निति निर्माण गरेपनि कृषि निति निर्माणमा भने ढिलाई गरेको पाइएको छ । कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रको दिगो विकासमा समस्या भएको छ । स्थानीय तह सञ्चालन ऐन २०७४ मा स्थानीय तहहरूलाई कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्यसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने अधिकार दिइएको छ ।

तर कृषिसम्बन्धी नीति निर्माण हुन नसक्दा कृषि क्षेत्रको विकास अगाडि बढाउन असहज भएको पाइएको छ । जिल्लाका स्थानीय तहहरूले नीति बनाइ नसकेकाले कार्यविधि अनुसार कृषिका कार्यक्रम सञ्चालन भैरहेको जनाएका छन् । जिल्लाको शारदा नगरपालिकाले कृषि नीतिको नमुना तयार भएको तर नगरसभावाट पास नभएको जनाएको छ ।

नगरपालिकाको कृषि विकास शाखाका नायव प्राविधिक सहायक प्रकाश खड्काले कृषिसम्बन्धी नीति नहुदाँ कार्यविधि अनुसार नै काम गरिरहेको जानकारी दिनुभयो । ‘नगरपालिकाले कृषि नितिको नमुना तयार पारेको छ, तर पारित हुन सकेको छैन,’ उहाँले भन्नुभयो । कृषि नीति निर्माण नभए पनि कृषि क्षेत्र प्राथमिकतामा रहेको उहाँको भनाई छ ।

चालुआर्थिक बर्षमा नगरले कृषिमा एक करोड दश लाख रुपैँया छुट्याइएको छ । सोही अनुसार नगरका १५ वटै वडालाई समेटेर नमुना कृषि फार्म स्थापना तथा बिस्तार कार्यक्रम, कृषि पकेट क्षेत्र कार्यक्रम, कृषि यान्त्रिकिकरण कार्यक्रम यस बर्ष सञ्चालनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । जसमा लक्षित बर्गहरुलाई बिशेष प्राथामिकतामा राखिएको उहाँको भनाई छ ।

जिल्लाको त्रिबेणी गाउँपालिकाले पनि कृषि निति निर्माण गरेको छैन्भने कार्यविधि अनुसार नै काम गरिरहेको जनाएको छ । कृषि बिकास शाखाका छैटौँ कृषि अधिकृत अमर बबालले कृषि निति नभएपनि कार्यविधि अनुसार काम गरिरहेको जानकारी दिनुभयो । यस बर्ष कृषि क्षेत्रमा विनियोजन गरिएको वजेटमध्ये झण्डै ६० प्रतिशत भौतिक प्रगति भएको उहाँको भनाई छ ।

‘कृषिमा व्यावसायिक रूपमा अगाडि बढ्नेलाई प्रोत्साहन गर्ने निति लिएका छौं,’ उहाँले भन्नुभयो ‘कृषिलाई प्राथमिकता दिँदा रोजगारी सृजना हुने र कृषि उपजमा आत्मनिर्भर बन्न सकिन्छ ।’ जसमा कृषकको उत्पादनः गाउँपालिकाको अनुदान कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, वालि बिकास कार्यक्रम, कृषकको सहभागितामा कृषि यान्त्रिकिकरण लगाएतका कार्र्यक्रमहरु सञ्चालन भैरहेको उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस