केपि ओली पुर्वएमाले खोज्ने धुनमा ब्यस्त छन् : नेता बस्नेत

शहिद स्मृति तथा सम्मान कार्यक्रम

सल्यान १, फाल्गुन ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले प्रधानमन्त्री केपि शर्मा ओली पुर्व एमाले खोज्ने धुनमा ब्यस्त रहेको आरोप लगाउनुभएको छ । उहाँले पार्टीको निति, विधि, पद्धति भन्दा पनि ब्यक्तिगत स्वार्थमा लिप्त भएर ओलीले बहुमत प्राप्त पार्टी सत्तारुढ पार्टीलाई सडकरुढ पार्टी वनाएको आरोप लगाउनुभएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सल्यानले सदरमुकाम खलंगामा शनिवार आयोजना गरेको शहिद स्मृति तथा सम्मान कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो । ‘पुर्व एमाले र पुर्व माओवादी अब महासागरमा गैसके, फर्किएर कहिल्यै आउने छैनन्’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकिकरणको समयमा केपि ओलीले बोलेको कुराको स्मरण गर्दै उहाँले भन्नुभयो ‘अहिले केपि ओली त्यही महासागरमा पुगिसकेको एमाले खोल्ने धुनमा ब्यस्त रहेका छन् ।’

ओलीले अलोकतान्त्रिक, असंबैधानिक र प्रतिगामी कदम चालेर संसद विघटन गरेको बताउदैँ उहाँले ब्यक्तिवाद हाभि भएकै कारण सत्तारुढ पार्टी सडकरुढ भएको बताउनुभयो । संविधान र लोकतन्त्र माथि कु गर्ने प्रधानमन्त्रीको रबैया धेरै दिन टिक्न नसक्ने उहाँको भनाई छ । उहाँले पार्टीको मुल सिद्धान्त, लक्ष्य, विचार र शहिदहरुको उच्च सम्मान गर्न सक्ने मात्र कम्युनिस्ट हुन सक्ने बताउनुभयो ।

‘यदि जेलनेल खादैमा कम्युनिस्ट हुन भए अहिले जेलमा बसेका सबै कम्युनिस्ट हुनु पर्ने हो तर कम्युनिस्ट बन्न त्यति सजिलो छैन, जसले सर्वहारा वर्गको नेतृत्व गर्न सक्छ, जस्तो सुकै चुनौतिलाई पनि सामाना गर्न सक्छ त्यो वास्तविक कम्युनिस्ट हुन सक्छ’ उहाँले भन्नुभयो । विघटित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका बस्नेतले जनयुद्ध, जनआन्दोलन लगायतका तमाम परितर्वतका क्रममा शाहदत प्राप्त शहिदहरुको सपना माथि प्रधानमन्त्री केपी शर्मा ओलीले खेलवाड गरेको बताउनुभयो ।


यस्तै केन्द्रीय सल्लाहकार सदस्य उमाकान्त शर्माले लामो संघर्षबाट प्राप्त भएका परिवर्तनका एजेण्डाहरुलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने बताउनुभएको छ । संविधान सभाबाट संविधान, गणतन्त्र, समानुपातिक, समावेशी र जनजीविकाका विषय उठान गरेर जनयुद्ध सुरु भएको बताउँदै शर्माले अहिले कार्यान्वयनमा आएको बताउनुभयो ।

नेकपाका जिल्ला कमिटी सचिव कर्ण बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य टिका बुढाथोकी, प्रदेश सल्लाहकार परिषद सदस्य दामोदर शर्मा, नेकपाका जिल्ला कमिटी सदस्यहरु राम खड्की, प्रमोद श्रेष्ठ, तिलक बिक, सन्तोष राई, हिमाल यात्री, शारदा नगर कमिटीका सचिव यौवन प्रकाश श्रेष्ठ, शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठ, शिक्षक महासंघका कर्णाली प्रदेश उपाध्यक्ष मधुसुदन शर्मा, प्रेस संगठन नेपालका जिल्ला संयोजक मिना बुढाथोकी, बिद्यार्थी नेता राम प्रसाद शर्मा, दलित मोर्चाका अध्यक्ष मानसिंह बिक, मुस्लिम मोर्चाका अध्यक्ष अम्मदिन हुसेन मियाँ लगाएतकाले बोल्नुभएको थियो ।

नेकपा शारदा नगर कमिटीका अध्यक्ष नविन सिंह भडेँलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस