फागुन ४,सल्यान
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जर्नादन शर्मा ‘प्रभाकर’ नेकपाको विवादलाई थाति राखेर निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा बिचाराधिन अवस्थामा रहेकाले यस्तो अबस्थामा मध्यावधिक निर्वाचन हुन नसक्ने उहाँले बताउनुभएको हो ।
मंगलवार प्रेस संगठन नेपाल, सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले यस्तो बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले नेकपा भित्रको बिवाद उत्कर्षमा पुगेको छ, पार्टीको आधिकारिकताको लागी विवाद निर्वाचन आयोगमा पुगेको छ, यस्तो अबस्थामा कुनै पनि हालतमा मध्यावधिक निर्वाचन हुन सक्दैन् । यदी यस्तो अवस्थामा निर्वाचन गर्न खोजियो भने त्यसको हिसावकिताव जनताले गर्ने छन् ।’
स्थायी कमिटी सदस्य शर्माले नेकपा भित्रको विवाद पार्टी विशेषको नभई नयाँ प्रणाली (संघियता, धर्मरिपेक्षता, समानुपातिक समाबेशीता) को कार्यान्वयन गर्ने वा नगर्ने विचको लडाई भएको बताउनुभयो । अहिलेको पार्टी विभाजन पद, प्रतिष्ठाको लागी नभई राजनितिक स्थायित्व र समृद्ध नेपाल निर्माणको लागी भएको प्रभाकरको भनाई छ ।
पुर्व गृहमन्त्री समेत रहनुभएका नेता शर्माले अहिलेको संसद विघटन संविधान खारेजी जस्तै भएको बताउनुभयो। संविधानको एक धारा नै कुल्चिएर संसद विघटन गर्नु संविधान खारेजी गर्नु सरह नै हो उहाँले भन्नुभयो ।
शर्माले संसद पुर्नस्थापना हुनेमा आफ्नो पार्टी र जनता बिस्वस्त रहेको बताउनुभयो ।