नेकपा सल्यानको जिल्ला स्तरीय बृहत अगुवा कार्यकर्ता भेला सम्पन्न

‘राष्ट्र र राष्ट्रियताको रक्षाका लागी नेकपा सडकमा ओर्लिएको हो’

सल्यान ४, फाल्गुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सल्यानको आयोजनामा जिल्ला स्तरीय बृहत अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । आज जिल्लाको सदरमुकाम स्थित सल्यान क्याम्पस प्रांगण, लुहापिङ खलंगामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलामा प्रधानमन्त्रीले संसद विघटन गरेपछि उत्पन्न समस्या र आगामी कार्यदिशाको बारेमा आम कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गरिएको जनाइएको छ ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोदन गर्दै नेकपाका स्थायी कमिटी सदस्य जर्नादन शर्मा (प्रभाकर) ले राष्ट्र र राष्ट्रियताको रक्षाका लागी नेकपा सडकमा ओर्लिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले संसद बिघटन गरेपछि देशमा अस्थिरता बढ्ने भएकाले स्थायित्व र समृद्धिका लागी संसद पुर्नस्थापना हुनुपर्ने माग गर्दै आफुहरु संघर्षमा उत्रिएको बताउनुभएको हो ।


राष्ट्र भन्दा माथि पार्टी हुन नसक्ने भएकाले राष्ट्र र राष्ट्रियताको रक्षाको लागी आफुहरुले संघर्ष गर्दै आएको उहाँको भनाई छ । उहाँले केपिबाद प्रबृतिका कारण लामो संघर्षबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा बढेको बताउनुभयो । ओलीको अहम्ताका कारण पार्टीको विधि र सिद्धान्त माथि प्रहार भएको उहाँको भनाई छ ।


यस्तै कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा संघिय मामिला विभाग प्रमुख परशुराम मेघि गुरुङले सर्वोच्चले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्ने दावी गर्नुभएको छ । आमनागरिक, नागरिक समाज, पुर्वप्रधानन्यायधिस सहित सबै क्षेत्रबाट संसद पुर्नस्थापनाका लागी जोडदार रुपमा माग आएको र सबै क्षेत्र संसद पुर्नस्थापनाको पक्षमा रहेकाले जसरी पनि संसद पुर्नस्थापना हुने उहाँले बताउनुभएको हो ।


कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वाला, केन्द्रिय सदस्य टेक बहादुर बस्नेत, काली बहादुर मल्ल लगाएकाले बोल्नुभएको थियो । भेलामा सल्यानबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु, प्रदेश सल्लाहकार परिषद् सदस्यहरु, पार्टीका जिल्ला कमिटी सदस्यहरु, प्रदेश परिषद सदस्यहरु, नगर तथा गाउँ कमिटी सदस्यहरु, वडा कमिटीका अध्यक्ष तथा सचिव, जनवर्गिय संगठनका जिल्ला संयोजक तथा सहसंयोजक, पार्टीबाट निर्वाचित वडाअध्यक्ष तथा कार्यपालिका सदस्य लगाएतको सहभागिता रहेको नेकपा सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस