सल्यानका २ प्रतिशत वालवालिका कुपोषित

फाइल फोटो

सल्यान ६, फाल्गुन ।
सल्यानका २ प्रतिशत बालबालिका कुपोषित रहेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले तथ्यांक सार्वजनिक गरेको हो । जसमा जिल्लाभरको बालबालिकाको अबस्थालाई हेर्दा कुपोषित बालबालिकाको संख्या २ प्रतिशत रहेको पाइएको छ ।

स्वास्थ्य संस्थाहरुमा गरिएको बालबालिकाहरुको तौलको आधारमा यस्तो तथ्यांक सार्वजनिक भएको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँले जिल्लाभर कुपोषित बालबालिकाको संख्या अझै धेरै हुनसक्ने बताउनुभयो । ‘अहिलेसम्मको तथ्यांकलाई हेर्दा २ प्रतिशत देखिएको छ, त्यो तौल जाँच गरेकाको संख्या मात्रै हो, गाउँघरमा त्यस्ता खालका बालबालिका अझै धेरै भएको हुन सक्छन्’ उहाँले भन्नुभयो ।

कार्यालयका अनुसार जिल्लाको दार्मा गाउँपालिकामा सबै भन्दा धेरै कुपोषित बालबालिका भेटिएका छन् । जिल्लाको भूबनोट र खाने बानीमा भएको समस्याका कारण बालबालिकामा कुपोषण देखिएको उहाँको भनाई छ । उहाँका अनुसार कुपोषणको मुख्य दोष गरिबी नै हो । ‘जिल्लाको सबै क्षेत्रका बालबालिकामा पोषणको अवस्था कमजोर नै रहेको छ, त्यसमा पनि दार्मा गाउँपालिकाका बालबालिकामा अझ बढी छ’ उहाँले भन्नुभयो ।

बिहान बेलुकाको राम्रोसँग दुई छाक टार्नसमेत समस्या भएपछि बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन समस्या भएकै कारण कुपोषण भएको बताइएको छ । खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडी रहने सुचना अधिकारी डिसीको भनाई छ । गाउँघरमा खाना पोषिलो भन्दा पनि छाक टार्नका लागि खाने गरेकाले यस्तो समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार जिल्लाभरका ३७ प्रतिशत गर्भवति महिलाहरु घरमा नै सुत्केरी हुने गरेको पाइएको छ । यस्तै ३९ प्रतिशत नागरिकले मात्रै परिवारनियोजनका साधनहरु प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको कार्यालयका सि. अहेब अधिकृत रिखाराम पुनले जानकारी दिनुभयो । जसका कारण जिल्लामा गर्भपतन गर्नेहरुको संख्या धेरै भएको उहाँको भनाई छ ।

यस्तै जिल्लामा १ सय ८६ जना क्षयरोगका बिरामीहरु रहेका छन् । चालु आर्थिक बर्षको साउन देखी पुस सम्ममा जिल्लामा ७४ जना थप क्षयरोगका बिरामीहरु भेटिएका छन् । यस्तै जिल्लाभर १३ जना कुष्ठरोगका बिरामीहरु रहेको कार्यालयले जनाएको छ ।

यस्तै लैगिंक हिंसा पिडित ३१ जनाले कार्यालयबाट सेवा लिएका छन् । जिल्लामा सर्ने भन्दा पनि नसर्ने रोगको जोखिम धेरै भएको पाइएको छ । मधुमेह, मुटु सम्बन्धि समस्या, क्यान्सर लगाएतका नसर्ने रोगको जोखिम धेरै भएको जनाइएको छ । कार्यालयले गत बर्ष पुजीँगत तर्फ ५० प्रतिशत र चालु तर्फ ६७ प्रतिशत वजेट खर्च गरेको थियो ।

कार्यालयका स्वास्थ्य सेवा ब्यवस्थापक दशरथ श्रेष्ठले स्वास्थ्य सेवा कार्यालयबाट प्रदान गरिने सेवालाई ब्यवस्थित र थप स्तरीय बनाउनको लागी आफुहरुले पहल गरिरहेको बताउनुभयो । जिल्ला अस्पतालमा सेवाग्राहीहरुको बिश्वसनियता बढ्दै गएकाले चाप धेरै भएको बताउदैँ उहाँले स्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक ताराप्रसाद रिजालले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस