विद्यालयमा हुने राजनीतिलाई अन्त्य गर्नुपर्छ : मन्त्री ज्वाला

सल्यान ६, फाल्गुन ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विद्यालय क्षेत्रमा हुने राजनीतिलाई अन्त्य गरिनुपर्ने बताउनुभएको छ । शैक्षिक क्षेत्रको विकासमा साझा एजेन्डा लिएर अगाडि बढ्नुपर्ने बताउदैँ उहाँले विद्यालयमा हुने राजनीतिलाई अन्त्य गर्नको लागि सबै क्षेत्र मिल्नुपर्ने बताउनुभएको हो ।

बिहिवार (आज) सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ पिपलनेटामा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालयमा प्रदेश सरकारको ५० लाख रुपैयाँबाट नवनिर्मित ६ कोठे विद्यालय भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री ज्वालाले शिक्षा क्षेत्र विद्यालयमा राजनीति भए, विशेषतः विद्यार्थी र अभिभावकले दुख पाउने बताउनुभएको छ ।

उहाँले शिक्षा क्षेत्र विकासको मेरुदण्ड भएकाले यसलाई साझा एजेन्डाको रुपमा लिन आग्रह गर्नुभयो । ‘शिक्षा क्षेत्रको विकास सबैको लागि हो, शिक्षाले समाजको ऐनको रूपमा काम गर्छ’ उहाँले भन्नुभयो ‘शिक्षित समाजविना बिकासको परिकल्पना गर्न सकिदैन ।’ यसका लागि संघ, प्रदेश र स्थानीय तहका बिच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।

मन्त्री ज्वालाले एउटा शिक्षकको भरमा सयौं विद्यार्थीहरुको भविष्य जोडिएकाले पेशा संगै सेवाको भाव लिएर काम गर्न आग्रह गर्नुभयो । उहाँले अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापलाई आत्मसात गर्दै अगाडि बढेमा विद्यार्थीको भविष्य पनि उज्ज्वल हुने बताउनुभयो । विद्यालयमा पढ्ने वातावरणको विकास गर्नको लागि अभिभावकहरुले आवश्यक पुर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले अहिलेको युग प्रविधिको युग भएकाले प्रविधिमैत्री पठनपाठनमा जोड दिनुपर्ने बताउनुभयो । ‘अहिलेको शिक्षा टिक्ने खालको नभई बिक्ने खालको हुनुपर्छ, यसका लागी दक्ष विद्यार्थी उत्पादन हुन आवश्यक छ’ उहाँले भन्नुभयो ‘कर्णाली प्रदेश सरकारले पनि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको छ ।’


कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले शैक्षिक गुणस्तर कायम राख्दै पठनपाठनका क्रियाकलापलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ । उहाँले बिगतमा भन्दा अहिले शैक्षिक स्तरमा क्रमिक रुपमा सुधार आएकाले शिक्षक, विद्यार्थी र अभिभावकका बीचमा त्रिकोणात्मक सहकार्य र समन्वयलाई जोड दिनुपर्ने बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिराम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश हमालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक टोपबहादुर घर्तीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस