निःशुल्क लोकसेवा पढाउँदै सल्यानको सिद्धकुमाख गाउँपालिका

सल्यान ७, फाल्गुन ।

सल्यानको सिद्ध कुमाख गाउँपालिकाले निशुल्क रुपमा लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । लोकसेवा आयोगले लिने परीक्षामा स्थानिय युवायुवतीहरुलाई सक्षम बनाउन गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो । गाउँपालिकाभित्र स्थायी बसोवास भएका युवा तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को वार्षिक स्वीकृत वजेट तथा कार्यक्रम अनुसार नायब सुबा र खरिदार तथा शिक्षक सेवा आयोगको प्रथम प्रश्न पत्रको परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले जानकारी दिनुभयो । छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाई छ ।

‘योग्यता हासिल गरेका कतिपय युवायुवतीहरुको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिन सक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्षित गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौँ’ उहाँले भन्नुभयो ‘राष्ट्रसेवक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।’ उहाँले स्थानिय स्तरमा नै लोकसेवाको तयारी गर्न सहजताको लागी यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले जिल्लामा नै पहिलो पटक सिद्ध कुमाख गाउँपालिकाले गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने जनशक्तिलाई आफ्नै स्रोतमा आयोगको तयारीमा संलग्न वनाउने तयारी भैरहेको बताउनुभयो । गत बर्ष नै आयोगका कक्षा सञ्चालन गर्ने तयारी गरिएपनि बिबिध कारणले सफल हुन नसकेको र यस बर्ष मात्रै कक्षा सञ्चालनको लागी आबश्यक तयारी गरिएको उहाँको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मार्शल कुमार ओलीले गाउँपालिकाले सञ्चालन गर्ने तयारी कक्षामा सहभागिता हुनको लागी ५० जनाले नाम दर्ता गरेको बताउनुभयो । जसमा लोकसेवा आयोग तर्फ ३१ जना र शिक्षक सेवा आयोग तर्फ १८ जनाले नाम दर्ता गरेका छन् । उहाँले अबको केही दिनमा नै तयारी कक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

गत माघ १८ गते गाउँपालिकाले लोकसेवा र शिक्षक सेवाको तयारी कक्षा सञ्चालनमा सहभागि हुनको लागी नाम दर्ता गराउन गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गरेका सबैमा आग्रह गरिएको थियो । लोकसेवा र शिक्षकसेवा आयोगका बारेमा जानकार बिज्ञ प्रशिक्षकद्धारा तयारी कक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस