नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको अर्थमन्त्री ज्वालाको भनाई

हिवल्चा स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन

सल्यान १३, फाल्गुन ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । उहाँले जनतालाई छिटोछरितो र स्तरीय सेवा प्रवाह गर्नको लागी सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको हो ।

बिहीबार सल्यानको शारदा नगरपालिका वडा नम्बर ११ मा रहेको हिवल्चा स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री ज्वालाले स्तरीय स्वास्थ्य सेवावाट कोहि नागरिक पनि बन्चित हुनु नपर्ने बताउनुभयो ।

‘नागरिकलाई स्थानीय स्तरमा नै सेवा प्रवाह गर्नको लागी स्वस्थ्य क्षेत्र प्राथमिकतामा राखिएको छ, देश संघीयतामा नजादैँ केन्द्रिय सरकारको ध्यान स्थानीय स्तर सम्म पुग्ने गरेको थिएन, जनताका आधारभूत आवश्यकता पनि पुरा गर्न समस्या थियो’ उहाँले भन्नुभयो ‘अहिले तीन तहका सरकार बनेपछि नागरिकको गुनासो नआउने गरि काम तिव्र गतिमा भैरहेको छ ।’ उहाँले आमनागरिकको गुनासो नआउने गरि सरकारले काम गरिरहेको बताउनुभयो ।


मन्त्री ज्वालाले पुर्वाधार विकासको पहिलो प्राथमिकतामा स्वास्थ्य भएको बताउनुभयो । अहिले सबै क्षेत्रमा स्वास्थ्य संस्थाका लागि भवन निर्माणको कार्य तिव्र गतिमा अगाडी बढेको बताउदै उहाँले यसका लागी आवश्यक स्वास्थ्यकर्मी तथा औषधि उपकरण व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । यसका लागी प्रदेश सरकारका तर्फ बाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।

स्वास्थ्य चौकी ब्यवस्थापन समितीका अध्यक्ष एवम् वडाअध्यक्ष रामसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नगर कमिटी अध्यक्ष नविन सिंह भडेँल, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य दिपक शर्मा लगाएतकाले बोल्नुभएको थियो ।

सो अवशरमा निर्माण व्यवसायी डिल्ली केसीले २ करोड २२ लाख रुपैयाँमा भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । स्वास्थ्य चौकी प्रमुख जिवन बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन स्वास्थ्यकर्मी नन्दलाल केसीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस