सल्यानबाट कर्णाली प्रदेश राजधानी जोड्ने लुहाम-काभ्रा-रामपुर सडकको मन्त्री ज्वालाद्वारा उद्घाटन

सल्यान १४, फाल्गुन ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने सडकको उद्घाटन गर्नुभएको छ । जिल्लाको पुर्वाधार विकासको मेरुदण्डको रुपमा रहेको सल्यान सुर्खेत जोड्ने त्रिवेणी लुहाम काभ्रा रामपुर सडकको उहाँले उद्घाटन गर्नुभएको हो ।

सडक उद्घाटन गर्दै मन्त्री ज्वालाले जिल्लाको त्रिबेणी, कपुरकोट र छत्रेश्वरी गाउँपालिकाका स्थानियलाई प्रदेश राजधानी सुर्खेत जोड्ने भरपर्दो र बलियो आधार तयार भएको बताउनुभयो । उहाँले यस सडकको स्तरोन्नतीको लागी प्रदेश सरकारले प्राथामिकता दिएर काम गरिरहेको बताउनुभयो ।

मन्त्री ज्वालाले यस सडकको बाँकि खण्ड ट्र्याक खोल्न र लुहाम काभ्रा रामबजार खण्ड स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित १६ करोड रुपैँयाको टेण्डर गरिएको बताउनुभयो । यस्तै यस सडकलाई आगामि आर्थिक बर्षको लागि संघीय समपूरकमा सिफारिस गरिएको बताउनुभयो । साथै काभ्रा रामबजार र कारागिठि शंखपिपल जोड्ने शारदा नदि मोटरेबल पूल प्रदेश सरकारको करीब ८ करोडको लगानीमा निर्माण हुन लागेको मन्त्री ज्वालाको भनाई छ ।

कर्णाली प्रदेश सरकारबाट विनियोजित १० करोड रुपैँयाबाट ८ किमि सडकको पक्की नालासहित ग्राभेलिङको काम सम्पन्न भएको छ । सो अबशरमा खड्का कृष्ण नारायण जेभिका प्रोप्राइटर जिमजियाङ राईले तोकिएको समयमा नै सडकस्तरोन्नतीको काम सम्पन्न भएको बताउनुभयो ।

सो अबशरमा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकी, त्रिबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुन लगाएतकाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस