सल्यान १४, फाल्गुन ।
सल्यानका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको सरुवा भएको छ । गत भदौँ महिना देखी सल्यानमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहनुभएको उहाँको अध्यागमन कार्यालय काठमाण्डौँमा सरुवा भएको हो । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको आज सरुवा र पदस्पथापन गरेको छ ।
जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । सोही अनुसार सल्यानमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा काभ्रेपलान्चोक जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत लक्ष्मीदेबी होमागाई खतिवडा आउन लाग्नुभएको छ ।
गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सल्यान सहित सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।