स्त्री रोग बिशेषज्ञ स्वास्थ्य शिविरमा १ सय ६५ जनाले सेवा लिए

सल्यान १५, फाल्गुन ।
सल्यानको त्रिबेणीमा सञ्चालित एक दिने निशुल्क स्त्री रोग बिशेषज्ञ स्वास्थ्य शिविरमा १ सय ६५ जनाले सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र त्रिबेणी गाउँपालिकाको समन्वयमा त्रिबेणी स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा त्रिबेणी गाँउपालिका सँगै कपुरकोट र छत्रेश्वरी गाउँपालिकाका महिलाहरुले सेवा लिएका हुन् ।

जसमा ४६ जना महिलाहरुको भिआइए जाँच गरिएको थियो । ती मध्ये ४ जनाको रिपोर्ट पोजिटिभ आएको त्रिबेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै जाँच गराएका मध्ये अप्रेशन गर्नुपर्ने ७ जनालाई जिल्ला अस्पतालमा हुने निशुल्क अप्रेशन शिविरमा बोलाइएको छ ।


शिविरमा महिलाको प्रजनन् स्वास्थ्य, तल्लो पेट दुख्ने, महिनावारी गडबढी, आङ खस्ने, महिलाको पाठेघरको क्यान्सरको जाँच लगाएतका सेवाहरु शिविरमा प्रदान गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँले यसै प्रकारको स्त्री रोग बिशेषज्ञ शिविर यही फाल्गुन २१ गते कपुरकोट गाउँपालिकाको धनवाङ स्वास्थ्य चौकीमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य शिविर उद्घाटन् कार्यक्रममा त्रिबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा ब्यवस्थापक दशरथ श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । स्थानिय स्तरमा नै स्वास्थ्य जाँच गर्न पाएको भन्दै शिविरमा सहभागि महिलाहरु खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस