सल्यान २१, फाल्गुन ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा आज शुक्रवार देखी निशुल्क रुपमा लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन हुने भएको छ । ढोरचौरमा रहेको निराजन माद्यामिक बिद्यालयमा शुक्रवार बिहान देखी कक्षा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । जसमा लोकसेवा आयोग तर्फ ३१ जना र शिक्षक सेवा आयोग तर्फ १८ जनाले नाम दर्ता गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मार्शल कुमार ओलीले माघ २३ गते सम्म नाम दर्ता गरेका गाउँपालिका भित्रका ब्यक्तिहरु मात्रै तयारी कक्षामा समाबेश हुन पाउने वताउनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत वजेट तथा कार्यक्रम अनुसार नायब सुबा र खरिदार तथा शिक्षक सेवा आयोगको प्रथम प्रश्न पत्रको परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । जिल्लामा नै पहिलो पटक सिद्ध कुमाख गाउँपालिकाले गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने जनशक्तिलाई आफ्नै स्रोतमा आयोगको तयारी कक्षामा संलग्न वनाउन लागेको उहाँको भनाई छ ।