हामीले घर र जग्गा कहिले पाउछौँ सरकार ?

सल्यान २२, फाल्गुन ।
सल्यानको शारदा नगरपालिका ३ संगित टोलका बिशुराम गन्धर्वको नाममा जग्गा छैन् । जनता आवास कार्यक्रम मार्फत सरकारले केही बर्ष पहिले बस्नलाई एउटा घर वनाइदिए पनि अहिले सम्म एक टुक्रा जग्गा उहाँ सँग छैन् । पख्र्यौली देखी नै संगित टोलमा बस्दै आएपनि जग्गा जमिन नहुदाँ समस्या भएको उहाँको भनाई छ ।

संगित टोल कै अनिता गन्धर्वको पनि एक टुक्रा जमिन छैन् । बस्नको लागी एउटा घर भएपनि खुर्सानी रोप्ने समेत एक टुक्रा जमिन नभएको उहाँको भनाई छ । संगित टोलका १४ परिवारलाई जनता आवास मार्फत सरकारले घर निर्माण गरिदिएको छ । यस्तै ५ परिवारको बस्ने आवास नै छैन् ।

यस्तै शारदा नगरपालिका १५ स्यालपानीकी बाला कुमारी बादीको जग्गा धनि लालपुर्जा छैन् । विगत ४० बर्ष देखी स्थायी रुपमा बस्दै आएपनि बस्नलाई एउटा घर छ तर न लालपुर्जा छ, न त जग्गा जमिन नै छ । यहाँ १० घरपरिवार बस्दै आएपनि ३ घरपरिवारको अझै सम्म बस्ने आवास नै छैन् ।

शारदा नगरपालिका १ शान्तिनगर की निर्मला बादीको पनि जनता आवास मार्फत निर्माण भएको बस्नलाई एउटा घर छ । तर जग्गा जमिनको नाममा एक टुक्रा पनि छैन् । ‘बस्नलाई घर मात्रै छ, तर खुर्सानीको बोट रोप्ने समेत ठाउँ छैन्’ उहाँले दुखेसो पोख्नुभयो । उहाँले जग्गा जमिन नहुदाँ जीवन निर्वाहको लागी अरुको भर पुर्नपर्ने बाध्यता रहेको बताउनुभयो ।

‘शान्तिनगरमा केही परिवारको घर निर्माण भएका छन्, तर जग्गा जमिन नहुदाँ समस्या भएको छ’ उहाँले भन्नुभयो ‘हामी तरकारी खेती अथवा केही अन्नवाली खेती गर्न चाहान्छौँ, कुनै ब्यावसाय सञ्चालन गर्न चाहान्छौँ, तर जमिन छैन्, चाहाना हुदाँ पनि काम गर्न सकिन्न ।’ उहाँले जग्गा जमिन नभएकै कारणले जीवन निर्वाहको लागी पनि अरुको भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

अहिले सल्यानमा रहेका सयौँ परिवार घर विहिन अवस्थामा रहेका छन् भने हजारौँ परिवार लालपुर्जा विहिन अवस्थामा रहेका छन् । यस्तो अबस्थामा जीवननिर्वाहमा समस्या भएको पिडित परिवारहरुको गुणासो रहेको छ । बर्षौ देखी आवास र जग्गाजमिन विहिन हुदाँ पनि सरकारी पक्षले उचित ब्यवस्थापन गर्न ढिलाई गरेको उनीहरुले बताएका छन् ।

भुमी सम्वन्धि समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले भुमीहिन दलित तथा सुकुम्वासी र अब्यवस्थित रुपमा बसोवास गरेकाहरुलाई ब्यवस्थित गर्ने कार्यको थालनी भएको बताउनुभयो । सोही अनुसार जिल्लाको बागचौर नगरपालिका र कालीमाटी गाउँपालिकामा लगत संकलनको काम शुरु भएको र क्रमशः सबै स्थानिय तहमा यस कार्यको थालनी गरिने उहाँको भनाई छ ।

उहाँले जिल्लामा रहेका आवास र जग्गाजमिन विहिनहरुको लागी आवास र खेतीयोग्य जमिन प्रदान गर्ने, आवास मात्रै भएकाहरुको लागी खेतीपाती गर्नको लागी जग्गाजमिन उपलब्ध गराउने र अब्यवस्थित रुपमा रहेको बसोवासलाई ब्यवस्थित गर्नको लागी जिल्लामा कार्यालय नै स्थापना गरेर कामको शुरुवात भएको जानकारी दिनुभयो ।

उहाँले लालपुर्जा विहिनहरुको हात हातमा लालपुर्जा प्रदान गर्ने गरी द्रुत गतिमा कामको थालनी गरिने जानकारी दिनुभयो । जिल्लाको वजारी क्षेत्रमा आवास विहिन, ग्रामिण क्षेत्रमा लालजुर्जा विहिन र सडक करिडोरमा अब्यवस्थित रुपमा बसोवास बढी भएकाले स्थानिय तहसँगको समन्वयमा उनीहरुको उचित ब्यवस्थापन गरिने उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस