सल्यान २२, फाल्गुन ।
सल्यानका झण्डै १३ हजार नागरिकलाई कोरोना भाइरस बिरुद्धको खोप लगाइने भएको छ । फागुन २३ गते आइतवार देखि जिल्लाभरमा नै सर्वसाधारण नागरिकहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउन शुरु हुदैँ छ । जसमा जिल्लाभर झण्डै १३ हजार सर्वसाधारणहरुलाई खोप लगाउने तयारी भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई जिल्लाभरमा खोप केन्द्र स्थापना गरेर खोप लगाउन लागिएको कार्यालयका स्वास्थ्य सेवा ब्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँले जिल्लामा फागुन २३ गते देखी २६ गते सम्म पहिलो चरण र फागुन २७ गते देखी चैत १ गते सम्म दोस्रो चरणमा गरेर खोप अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
जसअनुसार पहिलो चरणमा शारदा नगरपालिका, छत्रेश्वरी, त्रिबेणी, कपुरकोट र कालिमाटी गाउँपालिकामा खोप अभियान सञ्चालन हुदैँ छ । यस्तै दोस्रो चरणमा बन्गाड कुपिण्डे र बागचौर नगरपालिका तथा सिद्ध कुमाख, कुमाख र दार्मा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा खोप अभियान सञ्चालन हुने पाँच स्थानिय तहमा ३० वटा खोप कन्द्र तोकिएको छ । जसका लागि खोप सुपरिवेक्षक र खोपकर्ताहरुलाई खोप सम्बन्धी तालिम दिईसकिएको छ ।
२०६८ सालको जनगणना अनुसार जिल्लाभरमा ६५ बर्ष उमेर समुह माथिका १६ हजार २ सय ५ जना नागरिक भएपनि झण्डै १३ हजार नागरिकलाई खोप दिने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा १२ हजार ५ सय भाइल खोप आएको छ भने यस अघिको ८ सय ८४ भाइल खोप वचत रहेको थियो ।
यस्तै सल्यान जिल्ला अस्पतालका डा. भिमकान्त जैसीले कोरोना भाइरस बिरुद्धको खोप लगाइ सकेपछि स्वास्थ्यमा सामान्य असर देखिदैँमा आत्तिन नहुने भन्दै उहाँले ढुक्क भएर खोप लगाउन सुझाव दिनुभयो । यस्तै स्वास्थ्यका लागी सक्षम प्रणालीका प्राविधिक अधिकृत सुरेश शाहले कोरोना भाइरस बिरुद्धको खोप लगाइसकेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो ।
जिल्लामा हाल सम्ममा ३४ जना पत्रकार सहित २ हजार ५ सय ४१ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाइसकेका छन् । यसैविच जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम शनिवार स्वास्थ्य सेवा कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक ताराप्रसाद रिजालले गर्नुभएको थियो ।