सल्यान २३, फाल्गुन ।
सल्यानमा आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाउन शुरु गरिएको छ । दोस्रो चरणअन्तर्गत खोपको उपलब्धता र जोखिमको आधारमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । सोही अनुसार जिल्लाका ५ स्थानिय तहमा आज देखी खोप अभियान शुरु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
आज देखी २६ गते सम्म शारदा नगरपालिका, छत्रेश्वरी, त्रिबेणी, कपुरकोट र कालिमाटी गाउँपालिकामा कोरोना भाइरस बिरुद्धको खोप लगाउन थालिएको कार्यालयका स्वास्थ्य सेवा ब्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पाँच पालिकाका ६ हजार १ सय १९ जना नागरिकलाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
उहाँले ढुक्क भएर कोरोना खोप लगाउन र खोप लगाइसकेपछि पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न सुझाव दिनुभएको छ । जिल्लाभर झण्डै १३ हजार नागरिकलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । यसैविच जिल्लाका बाँकी बन्गाड कुपिण्डे र बागचौर नगरपालिका तथा सिद्ध कुमाख, कुमाख र दार्मा गाउँपालिकामा फागुन २७ गते देखी चैत १ गते सम्म कोरोना भाइरस बिरुद्धको खोप लगाइने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।