सल्यानमा मौरीपालन : मौरी घार बढे तर मह उत्पादन घट्यो

सल्यान २५, फाल्गुन ।
सल्यानमा बर्षेनी मह उत्पादन घट्दै गएको छ । विगतका बर्षहरुको तुलनामा अहिले क्रमिक रुपमा मह उत्पादन घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कम लगानीबाट पनि धेरै आम्दानी हुने भएपछि मौरीपालन तर्फ हौसिएका जिल्लाका किसानहरु बर्षेनी मह उत्पादन घटेपछि चिन्तित बन्न थालेका छन् ।

आर्थिक बर्ष २०७५/०७६ मा जिल्लाभर १ हजार ५ सय ३० घार मौरी थियो, जसबाट १९ मेट्रिक टन मह उत्पादन भएको थियो । यस्तै आर्थिक बर्ष २०७६/०७७ मा मौरी घारको संख्या बृद्धि गरेर २ हजार १ सय ३० पुग्यो, तर मह उत्पादन घटेर १० दशमलव ५ मेट्रिक टन मात्रै उत्पादन भयो । यस्तै आर्थिक बर्ष २०७७/०७८ को हालसम्म कात्तिके मह झण्डै ३० प्रतिशतले उत्पादनमा कमी आएको छ ।

जिल्लाको कालिमाटी गाउपालिका, कुमाख गाउपालिका, त्रिबेणी गाउँपालिका र कपुरकोट गाउँपालिकाका केही किसानहरुले मौरीपालन गर्दै आएका छन् । जिल्लामा बर्षेनी मौरीपालनको क्षेत्रमा लगानी बढाउदैँ गएपनि मह उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । बिगतका बर्षहरुको तुलनामा मह उत्पादनमा ह्रास आइरहेको उहाँको भनाई छ ।

‘सल्यान मौरीपालनका लागी राम्रो सम्भावना भएको क्षेत्र हो तर बिगतका बर्षको तुलनामा यस बर्ष मह उत्पादन घटेको छ’ उहाँले भन्नुभयो । उहाँले मौषमी परिबर्तनका कारण मह उत्पादन कम भएको हुनसक्ने बताउनुभयो । कालीमाटी क्षेत्रमा झुसिल किराको प्रकोप देखिनु, मौरीको चरण क्षेत्र नबढ्नु तथा सुख्खायामका कारण फूल नफूल्नु र फूलेका फूलहरु पनि बेलैमा सुकेर जादा मह उत्पादनमा कमी आएको हुनसक्ने उहाँको भनाई छ ।

मौरीपालनमा सरकारको लगानी धेरै

जिल्लामा मौरीपालन हुने क्षेत्रहरुमा सरकारी लगानी बढ्दै गएको छ । मौरी घार देखी लिएर आवश्यक औजारउपकरणहरुमा समेत सरकारी क्षेत्रको लगानी बढ्दै गएको पाइन्छ । गतबर्ष मात्रै कालिमाटी गाउपालिका वडा नम्बर १, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख गाउँपालिका वडा नम्बर ३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यालय प्रमुख आचार्यले मौरीपालनलाई ब्यावसायिक बनाउनको लागी बर्षेनी लगानी बढाउदैँ गएको बताउनुभयो । किसानहरुलाई आबश्यक पराशर्म सहित मौरीको गोला, घार, मह निकाल्ने उपकरण सहित चरण क्षेत्र बृद्धिका लागि बेमौषमी फूलका विरुवाहरु समेत उपलव्ध गराइएको उहाँको भनाई छ ।

मौरीपालनबाट विस्थापित हुनुपर्ने सम्भावना बढ्यो : किसान

जिल्लामा बर्षेनी बर्ष मह उत्पादन घट्न थालेपछि किसान चिन्तित बनेका छन् । कालिमाटी गाँउपालिका २ झिँगानेका नेत्रलाल वलीले विगतमा मौरीको मह विक्रीबाट मात्रै ५ लाख बढी आम्दानी गर्दै आउनुभएको थियो । तर अहिले भने झण्डै २ लाख रुपैँयामा चित्त बुझाउनु परेको उहाँको भनाई छ ।

यस्तै अर्का किसान चेत बहादुर वलीले श्रम अनुसारको उत्पादन नहुदाँ समस्या भएको बताउनुभयो । मौरीपालनबाट नै जीवनयापन गर्दै आउनुभएका उहाँले मौरीको घार बृद्धि गरेपनि उत्पादन बृद्धि नहुदाँ समस्या भएको बताउनुभो । बर्षेनी मह उत्पादन घट्दै जाने हो भने कुनै दिन मौरीपालन ब्यावसायबाट बिस्थापित हुनुपर्ने सम्भावना बढेको किसानहरुको गुणासो छ ।

 

 

प्रतिक्रिया दिनुहोस