स्त्रीरोग विशेषज्ञ स्वास्थ्य शिविरमा १ सय ६० जनाले सेवा लिए

सल्यान २५, फाल्गुन ।
सल्यानको हिवल्चामा सञ्चालित निशुल्क स्त्रीरोग बिशेषज्ञ स्वास्थ्य शिविरमा १ सय ६० जनाले सेवा लिएका छन् । मंगलवार स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र शारदा नगरपालिकाको समन्वयमा शारदा नगरपालिका वडा नम्बर ११ मा रहेको हिवल्चा स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा उनीहरुले स्वास्थ्य सेवा लिएका हुन् ।

जसमा ५२ जना महिलाले पाठेघरको क्यान्सरको जाँच गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका सुचना अधिकारी थलराज डिसीले पाठेघरको अप्रेसन गर्नुपर्ने ८ जनालाई जिल्ला अस्पतालमा हुने निशुल्क अप्रेशन शिविरमा बोलाइएको जानकारी दिनुभएको छ । शिविरबाट हिवल्चा सँगै मार्केका स्थानिय महिलाहरुले पनि सेवा लिएका छन् ।


शिविरमा महिलाको प्रजनन् स्वास्थ्य, तल्लो पेट दुख्ने, महिनावारी गडबढी, आङ खस्ने, महिलाको पाठेघरको क्यान्सरको जाँच लगाएतका सेवाहरु प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । स्थानिय स्तरमा नै स्वास्थ्य जाँच गर्न पाएको भन्दै शिविरमा सहभागि महिलाहरु खुसी भएका छन् । यसअघि त्रिबेणीमा सञ्चालित स्वास्थ्य शिविरमा १ सय ६५ जना र धनवाङमा सञ्चालित स्वास्थ्य शिविरमा १ सय ८० जनाले सेवा लिएका थिए ।


यसैविच शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले नागरिकको स्वास्थ्यप्रति नगरपालिका गम्भीर रहेको बताउनुभएको छ । स्त्रीरोग बिशेषज्ञ स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले स्वस्थ नागरिक विना विकास निर्माणका कार्यले गति लिन नसक्ने बताउनुभयो । जसका लागी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर काम गरिरहेको उहाँको भनाई छ ।


स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामसिंह बुढाथोकीले विभिन्न क्षेत्र संगको समन्वय र सहकार्यबाट शिविर संचालन गर्न सफल भएको बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालयका तारा प्रसाद रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सुचना अधिकारी डिसीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस