सल्यानका साढेँ ९ हजार जेष्ठ नागरिकले कोरोना खोप लगाए

सल्यान ३, चैत ।
सल्यान जिल्लाभरका साढेँ ९ हजार जेष्ठ नागरिकहरुले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । जिल्लाका दश वटै स्थानिय तहमा दुई चरणमा गरेर ९ हजार ५ सय ३८ जना ६५ बर्ष उमेर माथिका जेष्ठ नागरिकहरुले कोरोना भाइरस बिरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाभरका झण्डै १३ हजार नागरिकलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने लक्ष्य रहेको थियो । जस अनुसार जिल्लाभरमा खोप केन्द्र स्थापना गरेर ६५ बर्ष माथिको जेष्ठ नागरिकहरुलाई खोप लगाईएको स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा फागुन २३ गते देखी २६ गते सम्म पहिलो चरण र फागुन २७ गते देखी चैत १ गते सम्म दोस्रो चरणमा गरेर खोप अभियान सञ्चालन गरिएको थियो ।

जस अनुसार बागचौर नगरपालिकामा १ हजार ५ सय ३८ जना, शारदा नगरपालिकामा १ हजार ३ सय १ जना र बन्गाड कुपिण्डे नगरपालिकामा १ हजार १ सय ८३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका हुन् । यस्तै छत्रेश्वरी गाउँपालिकामा १ हजार २९ जना, कुमाख गाउँपालिकामा ९ सय ६२ जना, कालिमाटीमा ९ सय ११ जना, दार्मा गाउँपालिकामा ८ सय ६९ जना, त्रिबेणी गाउँपालिकामा ७ सय ८० जना, कपुरकोट गाउँपालिकामा ५ सय ६६ जना र सिद्ध कुमाख गाउँपालिकामा ३ सय ९६ जनाले कोरोना खोप लगाएका हुन् ।

२०६८ सालको जनगणना अनुसार जिल्लाभरमा ६५ बर्ष उमेर समुह माथिका १६ हजार २ सय ५ जना नागरिक रहेका छन् । यसअघि जिल्लामा क्रियाशिल ३४ जना पत्रकार सहित २ हजार ५ सय ४१ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाइसकेका छन् । कोरोना खोप लगाएका १३ जना जेष्ठ नागरिकहरुलाई सामान्य समस्या देखिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस