सल्यान ३, चैत ।
सल्यानको काभ्राकी १६ बर्षिया कविता बोहोराको असफल प्रेमकै कारण हत्या भएको पुष्टि भएको छ । गत बर्ष फागुन २ गते प्रणय दिवसकै राति भएको कविताको निर्मम हत्याको मुख्य कारण असफल प्रेम नै रहेको पुष्टि भएको हो ।
कविताको हत्या भएको एक बर्ष एक महिना पछि जिल्ला प्रहरी कार्यालय सल्यानले हत्यामा संलग्न १६ बर्षिय एक बालकलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीको लामो अनुसन्धान पछि घटनामा संलग्न बालकलाई पक्राउ गरेर जिल्ला अदालत सल्यानको निर्णय बमोजिम पुर्पक्षका लागि नेपालगञ्ज सुधार गृहमा पठाइएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सल्यानमा आयोजित पत्रकार सम्मेलनामा प्रहरीले लामो अनुसन्धान पछि सफलता हात पारेको जनाएको छ । कवितालाई आफुले प्रेम गर्ने तर कविताले प्रेम नगरी अर्को व्यक्तिसंग प्रेम सम्वन्धमा रहेको थाहा पाएपछि हत्या सम्मको योजना बनाएको कुरा अभियुक्तले स्वीकार गरेको सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।
तस्वीर :कविता बोहोराको हत्या गरिएको घटना स्थल !
कविता हत्याको वास्तविकता :
सल्यानको त्रिवेणी गाउँपालिका १ मा रहेको जनता माद्यामिक बिद्यालय काभ्रामा पढ्ने र नाताले दिदिको छोरा पर्ने एक वालकले १३ बर्षको उमेर देखि नै कविता बोहोरालाई मन पराउने र विवाहको प्रस्ताव राख्दै आएका थिए । कविताले विवाहको प्रस्ताव गरेको कुरा आफनो आमालई समेत भनेकी थिइन तर बावु आमाले छोरीको उमेर नपुगेकोले पढ्ने कुरा गरेपछि कविताले त्यसलाई वेवास्ता गर्दै आइन् । घर समेत नजिकै भएकोले पनि विद्यालय आउदा जाँदा संगै हुने भएपनि कविताले कुनै प्रतिक्रिया दिएकी थिइनन् ।
ती वालकले कवितालाई विद्यालय आउदा जाँदा समेत प्रेम प्रस्तावहरु राख्ने गरेको तथा प्रेम पत्रहरु झोलामा राख्दिने गर्दै आएपनि कविताले कुनै प्रतिक्रिया नदिने भइरहेको थियो । कविताले कुनै पनि प्रतिक्रिया नदिएपछि आवेसमा आएका बालकले २०७६ सालको फागुन २ गते परेको प्रणय दिवसको दिन प्रेम प्रस्ताव स्वीकार गर्न सक्ने झिनो आशा लिएर प्रस्ताव गरेको तर कविताले कुनै प्रतिक्रिया नदिएपछि त्यसै दिन राती कविताको हत्या गर्ने योजना बनाए ।
कविताको कोठामा टेलीफोनको नेटवर्कले राम्रोसंग काम नगर्ने र नजिकै बुवा आमा सुत्ने भएकोले पनि फोन गर्नका लागि उनि घर बाहिर आउने गरेको खुलेको छ । बाहिर आएको समयमा अभियुक्तले कपाल समातेर धारिलो हतियार प्रयोग गरी टाउको तथा घाँटी रेटेर भकारोमा हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ ।
अभियुक्तले कवितालाइ फकाउन निकै मेहनत गरेको तर कविताले कुनै पनि महत्व नदिएपछि हत्याको योजना बनाएको प्रहरी बताउँछ । अभियुक्तले आफनो नहुने भए अरुको पनि हुन दिन्न भनेर नै हत्या गरेको र प्रहरीले पक्राउ गरेपछि के के भन्ने भनेर डायरीमा टिपेर राखेको डायरी प्रहरीले बरामद गरेको छ ।
प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर तथा सिआइवीको टोली समेत परिचालन गरेको थियो । तर हत्याराले घटनास्थलमा कुनै पनि प्रमाण नछोडेको तथा शवमा अन्य व्यक्तिहरुले छोएकोले कुकुर अलमलमा परेको प्रहरीको भनाई छ तर कुकुरले आउने बेला र जानेबेला देखाएको बाटो प्रयोग गरेको अभियुक्तले स्वीकार गरेको प्रहरीको भनाई छ ।
प्रहरीले अनुसन्धानका लागि सवै विकल्पहरु प्रयोग गरेको र सफल अनुसन्धान गरी दोषी पत्ता लगाएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मण वलीलाई सम्मान गरिएको छ ।