सल्यानमा सामी परियोजनाले गरेका कामहरुका बारेमा पत्रकारसँग अन्तरक्रिया

सल्यान ३, चैत ।
सुरक्षित आप्रवासन परियोजना (सामी) ले सल्यानमा गरेका कार्यहरुका बारेमा जिल्ला स्तरमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज जिल्लाको सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बैैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) शुरु भएको हो ।

डेभ्लपमेन्ट सोशाईटी नेपाल, सल्यानको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित परियोजना शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा सञ्चालनरत रहेको छ । बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुका लागि जुन देशमा जाने हो त्यहि देशको काम अनुसारको सिपमुलक तालिम उपलब्ध गराउने र परिवारका लागि पनि उपलब्धीमुलक बनाउने गरी सामीले काम गरिरहेको जिल्ला कार्यक्रम संयोजक बिमल गौतमले जानकारी दिनुभयो ।


डेभ्लपमेन्ट सोशाईटी नेपाल, सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय सल्यानमा आप्रवासन स्रोत कन्द्र स्थापना गरेर आवश्यक परामर्श प्रदान गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस