सल्यान ५, चैत ।
सल्यानमा आत्महत्या गर्ने दर उच्च रहेको पाइएको छ । आत्महत्या गर्नेहरूमा झुन्डिएर आत्महत्या गर्नेको संख्या उच्च रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार हरेक वर्ष झुण्डिएर, विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार नेपालमा लकडाउन घोषणा भएदेखी हालसम्म जिल्लामा ५२ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै २७ जनाले बिष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । यस्तै १ जनाको डुवेर मृत्यु भएको छ । जसमा ४८ जना पुरुष र ३२ जना महिलाको मृत्यु भएको छ ।
यो अघिल्लो बर्षको सोही अवधिमा भएका घटनाको झण्डै २६ प्रतिशितले बढी हो । अघिल्लो आर्थिक बर्ष २०७५ चैत ११ गते देखी २०७६ चैत ३ गते सम्म जिल्लाभर ५९ जनाले आत्महत्या गरेका छन् । लकडाउन यता मात्रै जिल्लाभर १४६ जनाले आत्महत्याको प्रयास गरेका छन् ।
आत्महत्या गर्नेहरुमा १८ देखी ५० बर्ष उमेर समुहका बढी रहेको सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिनुभयो । ‘यसअवधिमा १५ जना अविवाहित र ६५ जना विवाहितले आत्महत्या गरेका छन्’ उहाँले भन्नुभयो ‘अधिकांश घटनाहरु घर भित्र नै हुने गरेको पाइएको छ ।’
मानिस बढी महत्वाकांक्षी बन्दै जानु, मानसिक तनाव, बहुविवाह, आत्मग्लानी र गरिबी लगायतका कारण वर्षेनि आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको उहाँको भनाई छ । बेरोजगारी, व्यवसायमा असफलता, घरझगडा, पारिवारिक विछोड तथा मानसिक समस्याका कारण पनि आत्महत्याका घटना बढ्दै गएको उहाँले बताउनुभयो ।
‘बढ्दै गएको शहरीकरण तथा प्रविधिको प्रयोगसँगै महत्वकांक्षा पनि थपिँदै जाने तर महत्वकांक्षा पुरा नहुने, व्यवसायमा असफता, श्रीमान÷श्रीमती विचको झगडा लगायतका कारण पनि आत्महत्याका घटना बढेका छन्,’ उहाँले भन्नुभयो । यस्तै मानसिक तनाव, प्रेम सम्बन्ध, वालविवाह, बहुविवाह, घरेलु हिंसा, आत्मग्लानी, गरिबी लगायत पनि आत्महत्याका लागि कारण बन्ने उहाँको भनाई छ ।
जिल्लामा वर्षेनी आत्महत्याका घटनाहरु बढ्दै गएपछि आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो । ‘जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ, यसले समाज डरलाग्दो अवस्थामा जांदै छ भन्ने अवस्थाको चित्रण गरेको छ, त्यसैले पनि बेरोजगार युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो ।
विभिन्न प्रविधिको विकाससँगै मानिसहरु एक्लै बस्ने, अभिभावकहरुको व्यवस्तता, लागूपदार्थको सेवन, पढाईमा असफता, परिवारिक असहयोग, सामाजिक बहिस्करण जस्ता कारण पनि मानिसले आत्महत्या गर्ने गरेको पाईएकाले हरेक व्यक्तिसँग परिवार र समाजलाई जोड्नपर्ने सरोकारवाला बताउँछन् ।