सल्यान ६, चैत ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझीले पछिल्लो समय निर्माण कार्यमा संलग्न भनेर लाइसेन्स लिने तर काम नगर्ने प्रचलन बढेको बताउनुभएको छ । निर्माण व्यवसायी संघ सल्यानको १९ औं साधारणसभा तथा ९ औं अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ढिलासुस्ती गर्ने केही निर्माण व्यवसायीका कारण सबै व्यवसायीहरुको वदनाम हुने गरेको बताउनुभएको हो ।
उहाँले बिभिन्न पेशा व्यवसाय तथा क्षेत्रबाट पलायन भएकाहरु नै निर्माण व्यवसायीको लाइसेन्स बोकेर हिड्दा समस्या भएको बताउनुभयो । ‘अहिले विकास निर्माणका काम थोरै पाइन्छ, तर लाईसेन्स भएका निर्माण व्यवसायीहरु धैरै छन्, ठेक्का प्रक्रियामा ४० प्रतिशत सम्म बिलो हाल्नुपर्ने बाध्यता छ, यसले गर्दा सोचेको समयमा नै स्तरीय काम गर्न केही समस्या भएको पाइन्छ’ उहाँले भन्नुभयो ।
स्थानिय तहहरुमा भएका विकास निर्माणका कामहरु उपभोक्ता समितीहरुबाट हुदाँ झन् समस्या भएको उहाँको भनाई छ । ‘स्थानिय तहले विकास निर्माणका सबै कामहरु बोलपत्र आह्वान गरेर सञ्चालन गर्न सकेको खण्डमा निर्माण व्यवसायीहरु भौतारिएर बस्नु पर्दैन्थ्यो, सबैले काम पाउथेँ, सम्झौता समय अगावै काम सम्पन्न हुनेथियो’ उहाँले भन्नुभयो । उहाँले स्थानिय तहले नयाँ लाइसेन्स वितरण सँगै नविकरणको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्ट, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, नेकपा एमालेका प्रतिनिधि महेश देवकोटा, निर्माण व्यवसायी महासंघका पुर्वक्षेत्रिय महासविच डिल्ली प्रकाश केसी, उद्योग बाणिज्य संघ सल्यानका बाणिज्य उपाध्यक्ष भरत कुमार बस्नेत, निर्माण व्यवसायी संघ सल्यानका पुर्व अध्यक्ष सहदेव थापा, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मा लगाएतकाले बोल्नुभएको थियो ।
नेपाल निर्माण व्यवसायी संघ सल्यानका अध्यक्ष राजेश गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार बुद्धि प्रकाश हमालले गर्नुभएको थियो ।