सल्यानमा पाठेघरको नि:शुल्क अप्रेशन

सानो उमेरमा नै विवाह गर्नु पाठेघर खस्नुको मुख्य कारण !

सल्यान ७, चैत ।
सल्यानमा पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेशन गरिएको छ । सामान्य रोगको संक्रमण हुँदा दाङ, बुटवल तथा नेपालगंजका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जानुको विकल्प नरहेका स्थानीयलाई जिल्लामा नै निशुल्क रुपमा शल्यक्रिया भएपछि केहि राहत मिलेको हो ।

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आर्थिक व्यवस्थापन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग र स्वास्थ्य सेवा कार्यालय सल्यानको स्थानिय व्यवस्थापनमा पाठेघर खस्ने समस्या भएका महिलाहरुको चेकजाँच र निशुल्क शल्यक्रिया गरिएको हो ।

जस अनुसार फागुन २६ गते देखी शुक्रवार सम्म सल्यान जिल्ला अस्पताल परिसरमा पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेशन शिविर सञ्चालन गरिएको छ । शिविरमा झण्डै १ सय ५० बढी महिलाले स्वास्थ्य जाँच गराएका थिए भने २५ जना महिलाहरुको पाठेघरको निशुल्क शल्यक्रिया गरिएको छ ।

जिल्लामा पाठेघर खस्ने समस्या भएका महिलाहरुको संख्या धेरै छ । खास गरेर सानो उमेरमा नै विवाह गर्नुले महिलाहरु पाठेघर खस्ने समस्याको सिकार भैरहेको डा. सुवि बस्न्यातले जानकारी दिनुभयो । सानो उमेरमा विवाह गर्नु, सानो उमेरमा बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, घरमा नै सुत्केरी हुनु, सुत्केरी अवस्थामा प्रर्याप्त पोषिलो खाना र स्याहार नपुग्नु, गह्रौ भारी बोक्नु जस्ता कारणले पाठेघर खस्ने समस्या देखिएको उहाँको भनाई छ ।

उहाँले जिल्लामा अप्रेशन गरिएका महिलाहरु मध्ये ५० देखी ७५ बर्ष उमेर समुहका धेरै महिलाहरुमा पाठेघर खस्ने समस्या रहेको जानकारी दिनुभयो । ‘मुख्यतः जनचेतनाको कमी र आफ्नो समस्याको बारेमा अरुलाई बताउँन लाज मान्ने प्रबृतिका कारण महिलाहरुले रोग पालेर बसेको पाईएको छ, सामान्य समस्या हुदाँ उनीहरु लुकाएर राख्छन्, जव समस्या भयाभह अवस्थामा देखिन्छ, अनि मात्रै उपचारको लागी अस्पतालमा जान्छन्’ उहाँले भन्नुभयो ।

उहाँले लामो समय सम्म रोग पालेर बस्दा स्वयम् ब्यक्तिलाई नोक्सानी गर्ने भएकाले समस्या देखिन बित्तिकै स्वास्थ्यकर्मीको सम्पर्कमा जान आग्रह गर्नुभयो । पाठेघर खस्ने समस्या भएका महिलाको शारीरिक र मानसिक दुवै समस्या देखिन्छ । जिल्ला अस्पतालमै निशुल्क उपचार गर्न पाएपछि महिलाहरु खुसी भएका छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको स्त्रीरोग बिशेषज्ञ शिविरबाट पहिचान भएका महिलाहरु शल्यक्रिया शिविरमा सहभागि भएको जानकारी दिनुभयो । उहाँले पाठेघर सम्वन्धि समस्या भएका महिलाहरुको चापका कारण शनिवार एक दिनको लागि शिविर थप गरिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस