विशेष सावधानीका साथ होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय सल्यानको आग्रह

सल्यान १४, चैत ।
कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय सल्यानले सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर होली पर्व मनाउन आग्रह गरेको हो ।

यस वर्ष भोली आइतबार पहाडी क्षेत्रमा र सोमबार तराईमा होली मनाइँदै छ । जिल्ला प्रशासन कार्यालयले पनि सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घरभित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ । यस्तै बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापाले होली पर्वलाई लक्षित गरेर जिल्लाभर शान्तिसुरक्षालाई थप चुस्तदुरुस्त पारिने जानकारी दिनुभएको छ । ‘सरकारले घरमै बसेर होली बनाउन अनुरोध गरिसकेको छ, भीडभाडमा पुगेर समूहगत रुपमा होली नमनाउन भनिसकेको अवस्थामा होली खेल्दा आवश्यक सजकता अपनाउन हामी सबैमा अनुरोध गर्दछौँ’ उहाँले भन्नुभयो ।

उहाँले कसैको इच्छा विपरित रंगहरु लगाई दिने कार्य नगर्न पनि आग्रह गर्नुभएको छ । यसरी सार्वजनिक स्थानमा आउँदा जाँदा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने तयारी समेत गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस