सल्यान २६, चैत ।
सल्यानमा आगोमा जलेर घाइते भएकी एक बालिकाको डेढ हप्तापछि उद्धार गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ छापडाँडा निवासी अजुर्न कार्कीकी १० बर्षिया छोरी अनुजा कार्कीको उद्धार गरि अस्पताल भर्ना गरिएको हो ।
गत चैत १५ गते छिमेकीको घरमा आगो ताप्ने क्रममा लगाएको कुर्तामा आगो सल्किएपछि अनुजाको शरिरको पछाडीको भाग जलेको थियो । घरको आर्थिक अवस्था कमजोर भएपछि बुवा रोजगारीको शिलशिलामा भारतमा रहेको र आमाले मजदुरी गर्ने गरेका कारण उनको घरमा नै घरेलु उपचार थालिएको थियो ।
आर्थिक अवस्था कमजोर रहेका कारण उपचार गर्ने लैजाने पैसा नभएको र बालिकाको अवस्था झन् गम्भिर बन्दै गएपछि उनको उद्धार गरेर अस्पताल भर्ना गरिएको हो । शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवराज बुढाथोकी सँगको समन्वयमा नवशक्ति युवा क्लव श्रीनगरको सहयोगमा बालिकालाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।
क्लवका अध्यक्ष कुमार सिंह केसीले वडा कार्यालय र क्लवले आर्थिक ब्यवस्थापन गर्ने गरी बालिकाको उद्धार गरेर अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर रहेकाले उपचार गर्न समस्याभएपछि स्थानिय स्तरमा उपलब्ध घरेलु औषधिको प्रयोग गर्दै आएको जानकारी प्राप्त भएको उहाँको भनाई छ । यस क्लवले विगत देखी नै सामाजिक कार्य गर्दै आएको छ ।