दमकल बिहिन सल्यान : डोजर चाहिं फालाफाल ?

‘जिल्लामा तीन वर्षमा आगालागीबाट ६ जनाको मृत्यु’

तस्वीर : कपुरकोट गाउँपालिकाको दानवाङमा भएको आगलागी । सामाजिक सञ्जालबाट

सल्यान ३१, चैत ।

फागुन १८ गते छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झिम्पेको दुदिल्य बस्तीमा आगलागी हुदाँ दुइ वटा खरको छाना र एउटा टिनको छाना भएको घर जलेर नष्ट भए । स्थानीय रैजेखोला चौखेढुंगा वनबाट सुरु भएको आगो मानव बस्तीमा पुग्दा स्थानिय ददिराम खत्रीका दुइ घर र मोहलाल शर्माका एउटा घर जलेर नष्ट भए । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा लगाएतका सबै सामान जले । वनबाटै फैलिएको आगलागीबाट सोही ठाँउका स्थानीय ज्ञान बहादुर वलीका बाहिर बाँधेका दुइवटा बाख्रा मरे ।

0000
चैत ६ गते कपुरकोट गाउँपालिका वडा नम्वर २ दानवाङमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा र एक घर आंशिक रुपमा जलेर नष्ट भए । स्थानीय शुक बहादुर बुढा, खर्क बहादुर घर्ती र केशर घर्तीको घरमा आगलागी भएको हो । आगलागीबाट खर्क बहादुरको नगद २ लाख ५० हजार सहित गरगहना, अन्नपात, लत्ता कपडा, भाँडाकुडा सबै जले । यस्तै शुक बहादुरको घरमा भएको नगद १५ हजार रुपैयाँ जलेर नष्ट भयो भने केशरको जस्ता पाताले छाएको घरको पनि एक तर्फको भाग जल्यो ।

0000

माथी उल्लेख गरिएका आगलागीका घटनाहरु त उदाहरण मात्रै हुन् । सल्लैसल्लाको वन भएको जिल्लामा आगलागीका घटना बढी हुने गरेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । यस बर्षको हालसम्म मात्रै जिल्लाभर झण्डै ५० बढी ठाँउमा आगलागि भएको छ । डिभिजन बन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले जिल्लाभर आगलागिका घटना बढ्दैसँगै यसको नियन्त्रण तथा रोकथामको लागी काम गर्दै आएको बताउनुभयो ।

‘दुइ वर्ष अघि आगलागीको उच्च जोखिममा सल्यान नेपालकै दोस्रो जिल्ला भयो, यस वर्ष पनि जोखिम बढ्ने आशंकाले सरोकारवालाहरुलाई सक्रिय बनाउदैँ आएका छन्’ उहाँले भन्नुभयो ‘आगलागी नियन्त्रणका लागी मख्यतः वन समुहका उपभोक्ताहरु सचेत बन्नुपर्दछ ।’

वन कार्यालयसंग आबद्ध ६ सय बढी सामुदायिक बन उपभोक्ता समुहका सदस्यहरुलाइ सचेतनामुलक अभिमुखिकरण लगाएतका कार्यहरु भैरहेको उहाँको भनाई छ । उहाँले जिल्लाका ३ ठाँउमा वन डढेलो नियन्त्रण सम्वन्धि नमुना प्रर्दशन समेत गरिएको जानकारी दिनुभउो । सल्यानमा १ लाख ९५ हजार एक सय ७८ हेक्टर वन क्षेत्रले ओगटेको छ । जसमध्ये अधिकांस जङ्गल सल्ला प्रजातिको रहेको छ ।

दश वटै स्थानीय तह दमकल विहीन
तीन नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानिय तह रहेको सल्यानमा एउटा पनि दमकमल छैन् । जनप्रतिनिधिका लागि सुविधा सम्पन्न सवारीसाधन खरिद गरेका स्थानिय तहहरुले दमकल खरिदका लागि कुनै चासो दिएका छैनन् । आगलागीका घटना हुदाँ खेरी मात्रै दमकलको आबश्यकता महशुस गर्ने जनप्रतिनिधिहरु भौगोलिक विकटता देखाउदैँ दमकल किन्नबाट पन्छिने गरेका छन् ।

गर्मीयाम शुरु भएसँगै सुख्खा खडेरी पर्नु र सल्लैसल्लाको जंगल भएका कारण जिल्लामा आगलागीको जोखिम छ । जंगलबाट शुरु भएको डढेलो मानवबस्तीमा जान्छ, ठुलो मात्रामा जनधनको क्षती गर्दछ । तर जिल्लामा एउटा पनि दमकल छैन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि हालसम्म यस सम्बन्धी कार्यविधि बनेको छैन ।

नगरले दमकल खरिद नगरेपनि आबश्यकता भने महशुस भएको शारदा नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुरेश अधिकारीले नगरसभामा यस बारेमा छलफल गर्ने र आगामी बर्षको वजेटमा दमकल खरिदको लागि वजेटको ब्यवस्था गर्ने सोच बनाएको बताउनुभएको छ ।

स्थानिय तहमा डोजर फालाफाल
दमकल खरीदमा विभिन्न बहाना गर्ने स्थानीय तहहरूलाई डोजर किन्न भने कुनै समस्या छैन । ठूलो संख्यामा जिल्लाका स्थानीय तहले आफैं डोजर किनेका छन् । जिल्लाका प्रायः सबै स्थानिय तहमा डोजर छ तर दमकल छैन् । जिल्लाका केही स्थानिय तहमा डोजर सँगै एस्काभेटर पनि रहेका छन् । जिल्लामा दमकलको आबश्यकता भएपनि स्थानिय तहले चासो नदिएको स्थानियको बुझाई छ ।

तीन बर्षमा आगागीका घटनामा परेर ६ जनाको मृत्यु
पछिल्लो तीन बर्षको अवधिमा सल्यानमा आगागीका घटनामा परेर ६ जनाको मृत्यु भएको छ । यस्तै यस अवधिमा आगलागी कारण करिब २६ लाख रुर्पैँया बढीको क्षति भएको जिल्ला प्रहरी कार्याय सल्यानले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस