सल्यानका ४ स्थानिय तहमा स्थानिय जनगणना कार्यालय स्थापना हुदैँ

सल्यान २, बैशाख ।
सल्यानका ४ स्थानिय तहमा स्थानिय जनगणना कार्यालय स्थापना गरिने भएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर जिल्लाका ४ स्थानिय तहमा स्थानिय जनगणना कार्यालय स्थापना गरिने भएको हो ।

यही वैशाख ४ गते भित्र जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका र कपुरकोट गाउँपालिकामा जनगणना कार्यालय स्थापना गर्न लागिएको जिल्ला जनगणना कार्यालय सल्यानका जनगणना अधिकारी केशर बहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शारदा नगरपालिकामा स्थापना गरिने कार्यालयले कालिमाटी गाउँपालिका हेर्ने तथा बागचौर नगरपालिकामा स्थापना गरिने कार्यालयले दार्मा गाउँपालिका र सिद्धकुमाख गाउँपालिका हेर्नेछ । यस्तै वनगाड कुपिण्डे नगरपालिकामा स्थापना गरिएको कार्यालयले कुमाख गाउँपालिका हेर्ने छ भने कपुरकोट गाउँपालिकामा स्थापना गरिने कार्यालयले छत्रेश्वरी र त्रिबेणी गाउँपालिका हेर्ने छ ।

जसका लागी ४ जना स्थानिय जनगणना अधिकारी तोकिएको छ । जसमा शारदा नगरपालिकामा चित्र बहादुर ढकाल, कपुरकोटमा खगेन्द्र बहादुर शाही, बागचौरमा टेकबहादुर डिसी र बन्गाड कुपिण्डे नगरपालिकामा राम कुमार बस्नेतलाई जिम्मेवारी प्रदान गरिएको छ ।

उहाँले जनगणनाका लागि सुपरिवेक्षकहरु बैशाख २६ गते देखी जेष्ठ १४ गते सम्म घरपरिवार सुचिकरण कार्यमा खटिने जानकारी दिनुभयो । यस्तै गणकहरु गणना गर्नको लागि जेष्ठ २५ गतेदेखी असार ८ गते सम्म कार्यक्षेत्रमा खटिने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस