सल्यान ३०, बैशाख ।
सल्यानमा जेठ १६ गते सम्म निषेधज्ञा थप गरिएको छ । जिल्लामा कोरोना भाईरस संक्रमण तिब्र रुपमा फैलिदै जान थालेपछि बिहिवार जिल्ला प्रशासन कार्यलय सल्यानमा बसेको कोभिड १९ विपद व्यवस्थापन समितीको बैठकले जेठ १६ गते राति १२ बजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस अघि बैशाख १९ गते सम्म देखि ३० गते सम्म निषेधाज्ञा गरेको थियो । जिल्लामा कोरोना संक्रमित र मृतकको संख्या थपिदै जान थालेपछि १५ दिन थप गरिएको हो ।
जिल्लामा संक्रमण दर उच्चतम विन्दुतर्फ बढ्दै गइरहेकाले निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइ खतिवडाले जानकारी दिनुभयो । जिल्लामा कोभिड १९ को उच्च जोखिमलाई न्युनिकरण गर्न तथा उपचारको प्रबन्ध मिलाउन निषेधाज्ञा थप्नु परेको उहाँको भनाई छ । निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पूर्णरुपमा रोक लगाइएको छ । अत्यावश्यक लगायतका खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य, औषधी र स्वास्थ्य सामाग्रीका पसलहरु स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्ने निर्णय भएको छ ।