सल्यान २, जेठ ।
सल्यानमा कोरोना भाइरसका बिरामीहरुको लागि अक्सिजनको समस्या भएको बेला सल्यानका युवा अभियान्ताहरुले ल्याएको २० सिलिन्डर अक्सिजन हस्तान्तरण गरिएको छ । अक्सिजनको लागि ‘मेरो एक हजार अभियान संचालन गरेका युवा अभियान्ताहरूले एकै पटक २० सिलिन्डर अक्सिजन जिल्ला अस्पताल सल्यानलाई आइतबार हस्तान्तरण गरिएको हो ।
सामाजिक फेसबुक बाट करिब एक हप्तामा अभियान संचालन गरेका हपिस भण्डारी, आषिस केसी, गोविन्द आभाष शर्मा र टेकराज शाहीको टिमले संकलन भएको पाँच लाख भन्दा बढी रकमले २० थान अक्सिजन सिलिन्डर खरिद गरेर जिल्ला अस्पताल सल्यानलाई हस्तान्तरण गरिएको हो ।
अभियान्ता एवंम पत्रकार आशिष केसीले मेरो एक हजार अभियानबाट संकलन भएको रकमबाट अक्सिजन सिलिन्डर खरिद गरेर हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
‘हामीले अहिले सबै नेपालीबाट एकएक पसिना जम्मा गरेर अस्पतालको सम्पत्तिको रुपमा पनि सिलिन्डर जोडिदिएका छौ। अक्सिजनको कमिले अब कुनैपनी नागरिकले अकालमा ज्यान गुमाउने छैनन भन्ने आशा गरेका छौ’ उहाँले भन्नुभयो ।
करिब ८ दिनमा पाँच लाख २१ हजार रकम संकलन भएको र ४ लाख ४० हजारको सिलिन्डर खरिद गरिएको उहाँको भनाइ छ । केही रकम बचत रहेकोले त्यसको सदुपयोगको लागि अर्को अभियानको पनि तयारी गरेको जनाइएको छ ।