सल्यानको कपुरकोट वजारमा खानेपानीको समस्या

फोटो : फाइल

सल्यान ३, जेठ ।
सल्यानको प्रवेशद्धार कपुरकोटमा खानेपानीको समस्या भएको छ । कपुरकोट वजारमा आउने सोलार लिफ्ट खानेपानीको मोटर बिग्रीएपछि झण्डै एक महिना देखी कपुरकोट वजारमा खानेपानीको समस्या भएको हो । झण्डै तीन बर्ष पहिले कपुरकोट गाउँपालिकाको आर्थिक सहयोगमा करिव ४३ लाख रुपैँयाको लागतमा कपुरकोट लिफ्ट खानेपानी योजना निर्माण गरिएको थियो ।

विगतमा खानेपानीको समस्या भोग्दै आएका कपुरकोटका स्थानियले जराधाराबाट लिफ्ट गरेर खानेपानी वजारमा आएपछि खुसी भएका थिए । तर अहिले खानेपानीको मोटर विग्रिएपछि समस्या भएको स्थानियको भनाई छ । जसले गर्दा वजार क्षेत्रका १ सय २५ बढी घरपरिवारका स्थानियलाई खानेपानीको समस्या भएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका समयमा नै खानेपानीको आपुर्ती बन्दभएपछि समस्या भएको छ । खासगरेर यहाँका स्थानिय सँगै कपुरकोट वजारमा व्यवसाय गर्दै आएकाहरु व्यवसायीहरु मारमा परेका छन् । लामो समयको खडेरीको कारण आसपासमा भएका पानीका मुहान सुकेकाले पनि समस्या भएको एक स्थानियले बताए ।

कपुरकोट वजार व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष रुपक बुढाले कोरोना रोकथामको लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण कपुरकोट लिफ्ट खानेपानी आयोजनाको बिग्रिएको मोटर मर्मत तथा नयाँ खरिदमा समस्या भएको बताउनुभएको छ । उहाँले लिफ्ट खानेपानीका लागि काठमाण्डौँबाट सामान ल्याउनुपर्ने भएकाले समस्या भएको बताउनुभयो ।

‘खानेपानीको निर्माण गर्ने क्रममा सोलार सहित मोटर जडान गरेको निकायसँग नै हामीले मोटर मर्मत सँगै नयाँ खरिदका लागि कुरा गरिरहेका छौँ, पुरानै निकायबाट सामान ल्याउदाँ सहज हुनेभएकाले काठमाण्डौँबाट सामान माग गरिएको छ’ उहाँले भन्नुभयो ‘खानेपानीको मोटर जलेर समस्या भएको हो, समस्या समाधान गर्न गाउँपालिकासँगै हामी पनि लागिरहेका छौँ ।’

कपुरकोट वजारवासीले विगतमा पनि खानेपानीको लागि निकै सास्ती खेपेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस