सल्यानमा कोरोना संक्रमण बढ्दै जाँदा स्थानीय तहका आइसोलेसन खाली

तस्वीर : फाइल

सल्यान ४, जेठ ।
सल्यानमा कोरोना संक्रमण बढदै गएको भएपनि जिल्लाका स्थानीय तहहरुले निर्माण गरेका अक्सिजन सहितका आइसोलेसन भने खाली हुदै गएका छन् । जिल्लाका ९ स्थानीय तहले तयार गरेका १ सय ८० शैयाका आइसोलेसनमा १३ जना कोरोना संक्रमितहरुले उपचार गराइरहेका छन् ।

कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजन आवश्यक भएको भन्दै जिल्लाका स्थानीय तहहरुले ३० शैया भन्दा वढि अक्सिजन सहितका आइसोलेसन तयार भएपनि आइसोलेसन भने खाली रहेका छन् । अहिले जिल्लाको छत्रेश्वरी गाउँपालिकामा ६ जना, बनगाड कुपिण्डेमा ५ जना र कुमाख गाउँपालिकामा २ जना गरेर १३ जनाको उपचार भइरहेको भएपनि अन्य स्थानीय तहहरुले निर्माण गरेका आइसोलेसन भने खाली रहेका छन् ।

स्थानीय तहमा दक्ष जनशक्तिको अभाव तथा अक्सिजनको अभाव भएपछि अक्सिजन सहितका आइसोलेसन समेत सञ्चालन गर्न नसकिएको स्थानीय तहले जनाएका छन् । “हामीले आइसोलेसन त तयार ग¥यौ तर दक्ष जनशक्ति नभएपछि यहाँ विरामी राख्नु भन्दा सल्यान अस्पतालमा रिफर गरेका छौ र हामी संग भएका अक्सिजन सिलिन्डर समेत अस्पताललाई हस्तान्तरण गरेका छौ,” सिद्धकुमाख गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत मार्शल ओलीले जानकारी दिनुभयो ।

आफुहरुले स्थानीय तहमा विरामीहरुलाई राखेर उपचार गर्न खोजेको भएपनि अक्सिजन अभावका कारण जोखिम मोल्न नसकिएको बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनुभयो ।

स्थानीयतहरुले निर्माण गरेका आइसोलेसनमा विरामीहरु नवसेपछि सल्यान अस्पतालमा शैयाको अभावमा बेन्च तथा अन्य शैयाहरु राखेर उपचार गरिएको छ । सल्यान अस्पतालमा रहेको १६ शैयाको कोरोना वार्ड भरिएपछि अस्पताले आकास्मिक कक्षलाई समेत कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गर्दै आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।

सल्यान अस्पतालमा तत्काललाई अक्सिजनको समस्या टरेको अस्पतालले बताएको छ । हाल अस्पताल तथा अन्य सहयोगी निकायहरुको सहयोगमा ४६ वटा र पछि फिर्ता गर्ने गरी १४ वटा अक्सिजन सिलिन्डर रहेको र ८ शैयाका लागि अक्सिजन कन्सन्ट्रेटर उपलव्ध भएकोले अक्सिजन अभाव नहुने उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस