सल्यान ८, जेठ ।
नेकपा एमालेका कर्णाली प्रदेश कमिटी संयोजक प्रकाश ज्वालाले सरकारले घोषणा गरेको मध्यावधिक चुनाव समस्या समाधानको विकल्प नभएको बताउनुभएको छ । देशमा देखिएको पछिल्लो राजनितिक समस्या समाधानको विकल्प मध्यावधिक चुनाव नभएको बताउदैँ उहाँले यस कदमले देशलाई थप जटिलता तर्फ लैजाने बताउनुभएको हो ।
कोरोना भाइरसको यस डरलाग्दो महामारीमा खोप, औषधि, अक्सिजन, आइसियू, भेन्टिलेटर उपलब्ध गराएर जनताको जिवन रक्षा गर्नुपर्ने बेलामा सरकारले मध्यावधिक चुनावको घोषणा गरेर बेमौषमी बाजा वजाइरहेको उहाँको भनाई छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद विघटन गरेर आगामी कात्तिक र मंसिरमा मध्यावधिक निर्वाचनको घोषणा गरेपछि शनिवार सामाजिक सञ्जाल फेसबुकमा संक्षिप्त प्रतिक्रिया दिदैँ ज्वालाले यस्तो लेख्नुभएको हो । ‘षड्यन्त्रमूलक ढंगले फेरि पनि प्रतिनिधिसभा विघटन गरी संबिधानको मर्ममाथि प्रहार भएको छ, राष्ट्रपति र प्रधानमन्त्रीको यो कदम असंबैधानिक र अलोकतान्त्रिक छ, देशमा प्रतिगमन दोहोरिएको छ’ उहाँले लेख्नुभएको छ ।
ज्वालाले संबिधान माथिको हाकाहाकि आक्रमण, लोकतान्त्रिक गणतन्त्र माथि कू गर्ने षडयन्त्र र जबर्जस्त लादिएको प्रतिगमनका बिरुद्ध प्रतिकार र डटेर सामना गर्नुको विकल्प नभएको बताउनुभएको छ । ‘सबै राजनैतिक दल, जनसंगठनहरु, नागरिक समाज र आम न्यायप्रेमी जनताको एकताबद्ध संघर्षबाट दोस्रो प्रतिगमन पराजित हुने निश्चित छ’ उहाँले अघि लेख्नुभएको छ ।