बागचौरका मेयर बुढाथोकीद्धारा आफूले पाउने तलवबाट स्वास्थ्य सामाग्री खरिद

सल्यान ९, जेठ ।
सल्यानको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले आफूले पाउने तलब भत्ताबाट नगरपालिकाका लागि स्वास्थ्य सामाग्री खरिद गर्नुभएको छ । उहाँले नगरपालिकामा सञ्चालित २५ शैयाको आइसोलेशन सेन्टरका लागि व्यक्तिगत लगानीमा २० थान नयाँ अक्सिजन सिलिन्डर, ६० हजार सर्जिकल मास्क, ३ सय केएन नाइन्टी फाइभ मास्क र १७ सय २८ पिस साबुन, स्यानिटाइजर लगाएतका सामाग्री खरिद गरेर उपलव्ध गराउनुभएको हो ।

आफूले पाउने तलब व्यक्तिगत रूपमा नलिएर सम्पूर्ण रकम जनताको सेवामा लगाउने उद्घोष गरेसँगै स्वास्थ्य स्वास्थ्य सामाग्री खरिद गरेको उहाँको भनाई छ । यस अगाडि पनि मेयर बुढाथोकीले नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाएको कोरोना कोषमा ४ लाख ५० हजार जम्मा गर्नुभएको थियो । अहिले खरिद गरिएको सामाग्री ६ लाख ६४ हजार बराबरको रहेको छ ।

मास्क आवश्यकता अनुसार नगर र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत यस कोरोनाको समयमा अग्रभागमा रहेर काम गर्ने जनशक्तिलाई उपलब्ध गराउने मेयर बुढाथोकीले बताउनुभएको छ । बागचौर नगरपालिकाले आफ्नै नयाँ भवनमा २५ शैयाको आइसोलेशन सेन्टर सञ्चालन गरेको छ ।

जसका लागी नगरपालिकाले १८ वटा अक्सिजन सिलिन्डर खरिद गरेको छ भने ५ वटा अक्सिजन कन्सन्ट्रेटर पनि रहेका छन् । नगरको आइसोलेसन सेन्टरमा १ जना मेडिकल अधिकृत, ४ जना हेल्थ असिस्टेन्ट, २ जना स्टाफ नर्स, ३ जना अनमी सहितको स्वास्थ्यकर्मी र ५ जना कार्यालय सहयोगी सहितको टिम परिचालन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

२५ शैयाको आइसोलेसन केन्द्रमा बिजुली, शौचालय, खानेपानी, सरसफाइ, क्यान्टिन, इन्टरनेट लगायतका अन्य सुविधाहरू समेत रहेका छन् । नगरपालिकाले वडाको समन्वयमा आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीको लागि गाडी पनि निःशुल्क उपलब्ध गराएको छ । उक्त प्रयोजनको लागि नगरपालिकाको सरकारी गाडी, नगरपालिकाको एम्बुलेन्स र एक वटा निजी गाडी भाडामा लिएको वागचौर नगरपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस