सल्यान ११, जेठ ।
सल्यानका किसानहरुले मकै रोप्न शुरु गरेका छन् । लामो समयको खडेरीपछि परेको पानीले जमिन भिजेपछि किसानहरुले मकै रोप्न थालेका हुन् । आकासे पानीको भरमा खेती गदै आएका यहाँका किसान निषेधाज्ञा कै समयमा पनि मकै छर्न ब्यक्त बनेका छन् । जिल्लाको अधिकांश जमिनमा सिंचाईको सुविधा छैन । सिंचाइको सुविधा नहुँदा जतिवेला आकासे पानी पर्छ त्यही मौका छोपेर बाली लगाउने गरिन्छ ।
जिल्लाका ग्रामिण भेगका किसान अहिले बारीमा गोठे तथा स्याउले मल बोक्ने र मकै रोप्ने कार्यमा ब्यस्त छन् । केही किसानहरुले भने मकैँ रोपिसेकेका छन् । बैशाख जेठमै रोपेको मकैको उत्पादन राम्रो हुने किसानको भनाई छ । तर जिल्लाका किसानहरुले भने मकैँको पुरानै वीउ रोप्दै आएका छन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराका स्थानिय जितेन्द्र पुनले आफुले विगतमा रोप्दै आएको मकैँ वीउ नै रोपेको बताउनुभएको छ । गाउँघरमा मकैँको नयाँ प्रजातीको विउ नपाइने र निषेधाज्ञाका कारण वजारहरु पनि बन्द भएकाले विगतका बर्षहरुमा रोप्दै आएको मकैँ रोपेको उहाँको भनाई छ । उहाँले गाउँघरका धेरै किसानले मकैँको पुरानै वीउ रोप्दै आएको बताउनुभएको छ । ‘मकैँको बोट अग्लो हुन्छ, मकैँको घोगा पनि ठुलो हुदैन्, तर पनि पुरानै वीउ रोप्दै आएका छौँ’ उहाँले भन्नुभयो ।
कालिमाटी गाउँपालिका ३ का स्थानिय कुल प्रसाद भण्डारीले यहाँका स्थानियले पनि पुरानै मकैँको वीउ रोप्दै आएको बताउनुभएको छ । कालिमाटी गाउँपालिका वडा नम्बर २, ३ र ४ मा मकैँको मुल वीउ उत्पादनको लागि बसन्ते मकैँ पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएपनि ढिलो पाक्ने भएकाले किसानहरुले मकैँको नयाँ वीउ रोप्न आनाकानी गर्ने गरेको उहाँले बताउनुभएको छ ।
कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाका आधा भन्दा बढी किसानहरुले मकैँ रोपिसकेका छन् । कार्यालय प्रमुख महेश आचार्यले गाउँघरमा नै पाइने स्थानिय जातको मकैँको वीउ राख्ने र पैसाको वचत हुने भएकाले किसानहरुले पुरानै जातको मकैँको वीउ रोप्दै आएको बताउनुभएको छ । मकैँको मुल वीउ उत्पादन गर्ने किसानहरुले नयाँ नयाँ जातको विउ रोप्ने गरेको भएपनि खाद्यान्नको लागि प्रयोग गर्न पुरानै जातको मकैँ रोप्ने चलन कायमै रहेको उहाँको भनाई छ ।
जिल्लामा मनकामना–३, मनकामना–५, देउती, अरुण–२, अरुण–४, रामपुर कम्पोजिट लगाएतको मकैँको जात प्रचलित रहेको छ । जिल्लाभर बर्षेनी झण्डै १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकैँ खेती हुदैँ आएको छ । जसबाट जिल्लाभर ६८ हजार बढी मेट्रिक टन मकैँ उत्पादन हुदैँ आएको छ ।
जिल्लामा उत्पादित मकैँ मध्ये केही मकैँ जिल्लामा नै खपत हुन्छ भने बाँकी जिल्ला वाहिर निर्यात हुन्छ । जिल्लाको मकैँ खेती गरिने कुल क्षेत्रफल मध्ये करिब ५ प्रतिशत क्षेत्रफलमा हाइव्रेट जातको मकैँ खेती हुने गरेको छ ।