‘ज्वरो र रुघाखोकी देखिनासाथ कोरोना परीक्षण गर्नुहोस्’

स्वास्थ्य-बिशेष

सल्यान १३, जेठ ।
कोरोना भाइरसको लक्ष्यण सँग मौसमी रुघाखोकीको लक्ष्यण मिल्ने भएकाले ज्वरो रुघाखोकी देखिनासाथ कोरोना परिक्षण गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । रुघा र ज्वरो मात्रै भएकालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै उनीहरुले यस्ता समस्या देखिएमा कोरोना परीक्षण गर्न सुझाव दिएका हुुन् । रुघा, खोकी, ज्वरो, जीउ दुख्ने, श्वास फेर्न गाह्रो हुने लगाएत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

जिल्ला अस्पताल सल्यानका डा. भिमकान्त जैसीले पछिल्लो पटक जिल्लामा कोरोनाको संक्रमण उच्च भएकाले स्वास्थ्यमा सामान्य समस्या देखिन बित्तिकै कोरोना परिक्षण गर्न सुझाव दिनुभएको छ । सल्यान टुडेसँग कुराकानी गर्दै उहाँले नयाँ भेरियन्टको कोरोना भाइरस खतरनाक भएकाले समयमै जाँच र उपचार गर्न आग्रह गर्नुभएको हो । सामान्य लक्ष्यण देखापर्न बित्तिकै उपचार गराएमा निको हुने तर समस्या बढेपछि बचाउन नै गाह्रो पर्ने भएकाले रुघाखोकी वा ज्वरो त हो भनेर नबस्न उहाँको सुझाव छ ।

कोरोनाबाट बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन् । पछिल्लो समयमा शहरवजारबाट गाउँ फर्किनेको संख्या बढ्दै गएकाले गाँउमा पनि कोरोनाको जोखिम धेरै भएकाले आवश्यक सावधानी अपनाउन उहाँको सुझाव छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण रुपमा पालना गर्नुपर्ने बताउदैँ उहाँले भन्नुभयो ‘रोग लागेर निको हुनुभन्दा लाग्न नदिनु नै उत्तम उपाय हो ।’ उहाँले कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण देखिएमा स्थानिय तहहरुमा पनि आरडिटी, एन्टिजेन परिक्षण भैरहेकाले स्वास्थ्य शाखामा सम्पर्क गर्न वा सिधैँ जिल्ला अस्पतालमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

‘रुघाखोकी लागेमा वा ज्वरो आएमा आफैँ औषधि किनेर खाने नगरि चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नु पर्दछ’ उहाँले भन्नुभयो ‘जिल्लामा कोरोना संक्रमितको उपचारको लागि आबश्यक संरचना निर्माणसँगै डाक्टर र स्वास्थ्य सामाग्रीको व्यवस्था भएकाले स्वास्थ्यमा कुनै समस्या देखिएमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहनु पर्दछ ।’ प्रशस्त मात्रामा सुत्ने, रोगप्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खान तथा यथेष्ट मात्रामा पानी पिउन उहाँको सुझाव रहेको छ ।

यस्तै कोरोना संक्रमण पुष्टिको अवस्थामा स्वास्थ्य अवस्था सामान्य भए स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र पोषणबिद्धको सुझावको आधारमा रोगप्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खान उहाँको सुझाव रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस